


हृदयविदारक अपराधः आफू मरेपछि दुःख पाउँछे कि भन्दै ९० वर्षीय दिलबहादुरले गरे श्रीमतीको हत्या

कावासोती – पूर्वी नवलपुरको देवचुली ३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।
सुन्दा पनि अचम्म लाग्ने कारण बताउँदै स्थानीय ९० वर्षीय दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार दिलबहादुरले श्रीमती विभिन्न रोगले थला परेको र आफ्नो मृत्युपछि दुःख नपाओस् भनेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।
‘घरमा बुढाबुढी मात्रै रहेछन् । आँखा पनि राम्रोसँग नदेख्ने दिलबहादुरले केही समयदेखि पत्नी बिरामी भएको र आफू मरेपछि बुढीले दुःख नपाउन् भनेर हत्या गरेको बताएका छन्,’ डीएसपी नेपालले भने ।
घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

