


उपचारमा लापरबाही मुद्दामा ओम हस्पिटललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला

काठमाडौं – उपभोक्ता अदालतले चाबहिलस्थित ओम अस्पताललाई चिकित्सकीय लापरवाहीका कारण बिरामीको मृत्यु गराएको ठहर गर्दै पीडित परिवारलाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश दिएको छ।
अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ५० लाख ७० हजार र उपचारमा संलग्न चिकित्सकद्वय डा. सायुज्यराज घिमिरे र डा. सरोजकुमार गोहिवारलाई जनही तीन लाख पाँच हजार पाँच सय रुपैयाँका दरले तिराउन आदेश दिएको हो।
बुढानीलकण्ठ–९ निवासी बसन्त गौतमले आफ्ना ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतमको मृत्यु चिकित्सकीय लापरवाहीका कारण भएको दाबी गर्दै अस्पताल तथा चिकित्सकमाथि ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै उजुरी दर्ता गरेका थिए। गत माघ ५ गते बाथरुममा लडेर घाइते भएका गौतमलाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिए पनि प्रारम्भिक स्वास्थ्य परीक्षण नगरी केवल नदुख्ने औषधी दिएर पठाइएको थियो।
चार दिनसम्म पीडा कम नभएपछि उनलाई ह्याम्स अस्पताल लगिएको थियो, जहाँ फ्याक्चर गम्भीर भइसकेको र उपचारमा ढिलाइ भएको जानकारी दिइएको थियो। पछि घरमै उपचार गर्दा उनकाे मृत्यु भएको थियो।

