


रोल्पामा तेह्रौँको प्रसाद खाएर एकै गाउँका ११० भन्दा बढी बिरामी

रोल्पा— रोल्पा नगरपालिका–३ चौर पानीमा एकै गाउँका ११० भन्दा बढी व्यक्ति तेह्रौँको प्रसाद खाएपछि बिरामी परेका छन्। प्रारम्भिक अनुमान अनुसार खानामा ‘फुड प्वाइजन’ (खाद्य विषाक्तता) भएको हो।
शनिबार तिलकप्रसाद रोक्काको घरमा आयोजित बुवाको तेह्रौँ कर्ममा दालभात, पुरी र अचारसहितको खाना खाएका स्थानीयहरूमा पखाला, वान्ता, टाउको दुख्ने र ज्वरो जस्ता लक्षण देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी बीरेन्द्र विश्वकर्माले जानकारी दिए।
करीब १५० जनाले प्रसादस्वरूप बनाइएको खाना खाएका थिए। तीमध्ये अचार खाएका धेरैजसो बिरामी परेका हुन्।
हालसम्म अधिकांश बिरामीको स्थानीय रूपमा उपचारपछि घर फर्किएका छन् भने आठ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पा र सुरक्षाकर्मीको टोली प्रभावित गाउँमा पुगेको छ। जिल्लाका निमित्त स्वास्थ्य प्रमुख सीता कुँवरका अनुसार प्रारम्भिक रुपमा खानाबाट फुड प्वाइजन भएको देखिए पनि विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ।
स्वास्थ्य कार्यालयले सतर्क रहन गाउँबासीलाई आग्रह गरेको छ भने खानेकुरा, पानी तथा सरसफाइप्रति विशेष ध्यान दिन आग्रह गरिएको छ।

