भन्सारका प्रमुखलाई कुट्ने धनगढीका नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ


धनगढी- शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिका प्रहरी निरीक्षक लक्ष्मणसिँह धामीसहित चार जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नगर प्रहरी निरीक्षक तथा भन्सार क्षेत्रमा प्रमुख प्रहरीको जिम्मेवारी सम्हालेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिँह धामी र हवल्दार मणीदत्त भट्ट समावेश छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले भने, “भन्सार प्रमुखको नाममा ‘अभद्र व्यवहार’ शिर्षकमा दर्ता भएको किटानी जाहेरीको आधारमा चारै जना पक्राउ परेका हुन्।”

प्रहरीका अनुसार, शनिबार राति नगर प्रहरी टोली भन्सार कार्यालयभित्र प्रवेश गरी अधिकृत तिमिल्सिनालाई कुटपिट गरेका थिए। उक्त घटना सीसीटीभीमा कैद भएको फुटेज सार्वजनिक भइसकेको छ।

प्रहरीले चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालिसकेको छ भने धनगढी उपमहानगरपालिकाले पनि निरीक्षक धामीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया