

वर्षायाममा देखिने महामारी नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले बढायो सक्रियता

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वर्षा शुरु भएसँगै देखिन सक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएका छन् ।
मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँग बैठक गर्दै मन्त्री पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गरे । ‘वर्षाको सिजन शुरु भैसकेको छ,’ उनले भने, ‘पानी तथा कीटजन्य महामारीबाट जोगिन आ आफ्नो तर्फबाट आजै तयारी थाल्नुहोला ।’
मन्त्री पौडेलले विपद् आए पछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै यसपाली त्यसो हुन नहुने बताए । बैठकमा मन्त्री पौडेलले डेंगी फैलन नदिन अहिल्यैदेखि लामखुट्ने नियन्त्रण अभियानको तयारी अघि बढाउन आग्रह गरे । यसैगरी, झाडापखाला, टाइफाइड, ज्वरोलगायतका महामारी वर्षापछि दुषित पानीका कारण फैलन सक्ने भन्दै सचेतनादेखि सजगताका सबै काम थाल्न मन्त्री पौडेलले आग्रह गरे ।
मन्त्रालयले भारतलगायतका देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीन वटै सरकारसँग समन्वय गर्ने गरी काम अघि बढाइरहेको उनले बताए ।
मन्त्री पौडेलले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए । बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रुपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक डाक्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

