‘६४ मा माओवादीले आंतकको भरमा जिते, अहिले पनि अफवाह र भ्रम फैलाउँदै छन्’


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रमाथि तीव्र आरोप लगाएका छन्। शनिबार गोदावरीमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा उनले माओवादी नेतृत्वले सन् २००८ (वि.सं. २०६४) को निर्वाचन लोकप्रियताले होइन, आतंकको भरमा जितेको दाबी गरे।

ओलीले भने, ‘२०६४ मा देश माओवादीमय होइन, आतंकमय थियो। लडाकु क्याम्पमा राखेर, मान्छे तर्साएर, कुटपिट गरेर, हत्या गरेर माओवादीले चुनाव जिते। त्यो लोकप्रियता होइन, डर र धाकको राजनीति थियो।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यक्तिगत रूपमा पनि कटाक्ष गर्दै भने, ‘भ्रष्टहरुले भ्रष्टाचारविरुद्ध ठूलो स्वर गर्नु निलज्ज स्वर हो। अहिले प्रचण्ड ठूलो स्वरमा बोलिरहेका छन्, तर २०६४ मा जे गरे, त्यसको पुनरावृत्ति अब सम्भव छैन।’

ओलीले माओवादी अहिले पनि पुरानै शैलीमा भ्रम फैलाएर देशमा माओवादीमय अवस्था फर्काउने सपना देखिरहेको बताए। ‘अलिअलि आफ्ना कार्यकर्ता देख्दा प्रचण्डलाई लाग्छ अब फेरि २०६४ आउँछ, तर त्यो समय गइसकेको छ,’ उनले स्पष्ट पारे।

त्यसक्रममा उनले कम्बोडियामा आफूसँग ३२ अर्ब लगानी छ भन्ने हल्ला प्रचण्डले फैलाएको आरोप पनि दोहोर्याए। उनले माधवकुमार नेपाल र झलनाथ खनालजस्ता नेताहरूलाई त्यो हल्लाको पछि लागेको आरोपसमेत लगाए।

एमाले अध्यक्ष ओलीले वाम एकता पुनः सम्भव छैन भन्दै माओवादीसँग दूरी कायम गर्ने संकेत दिए। ‘एमालेलाई धुलो चटाउने भनेर अफवाह फैलाउनेहरूसँग कस्तो एकता ? कांग्रेससँग गएकाहरूले अब वाम आन्दोलनको नेतृत्व गर्न सक्दैनन्,’ उनले भने।

प्रतिक्रिया