

किन रोकियो प्रहरीमा बढुवा प्रक्रिया ?
रिक्त भएको एक महिनामा पनि भएन डिआईजी बढुवा सिफारिस

काठमाडौं – नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) बढुवा सिफारिस भएको १ महिना पुगिसकेको छ । एआईजीमा बढुवा भएकाहरु कार्यास्थलमा खटिइसकेका छन् । तर, उनीहरुको स्थानमा रिक्त रहेको प्रहरी नायब महानिरिक्षक (डिआईजी) का लागि भने बढुवा सिफारिस हुने सुरसार छैन ।
वैशाखमा एआईजीमा बढुवा भएका लालमणि आचार्य यही १० गते अनिवार्य अवकाशमा जाने भएपछि प्रहरीले उनको स्थानमा एक जनालाई बढुवा गरिसकेर मात्र डिआईजी बढुवा गर्ने सुरमा हेडक्वार्टर रहेको देखिन्छ ।
राजनीतिले प्रभाव पारिरहने संगठनको रुपमा चिनिएको प्रहरीमा अहिलेको अवस्थामा १० जना डिआईजीको पद रिक्त रहेको छ । आचार्यको अवकाशपछि एक जना डिआईजी एआईजीमा बढुवा हुने भएपछि ११ पद रिक्त हुने र ती पदहरुमा एकैपटक बढुवा सिफारिस गर्ने तयारी हेडक्वार्टरको रहेको जनाइएको छ ।
एक महिनाभन्दा लामोसमयदेखि डिआईजी प्रमुख रहने प्रहरकिा कार्यालयहरुमा एसएसपीले नै जिम्मेवार सम्हालेर बसिरहेका छन् । जसले गर्दा संगठनलाई जतिसक्दो छिटो डिआईजी बढुवा गर्नुपर्ने बाध्यता आइरहे पनि बढुवाको निर्णय नहुँदै अर्को पद रिक्त हुने भएकाले एकैपटक बढुवा सिफारिस गर्ने मनसायमा प्रहरी नेतृत्व रहेको स्रोतले जनाएको छ ।
अहिलेको अवस्थामा डीआईजी बढुवाको प्रमुख दाबेदारमा अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेका एसएसपीहरू बरियताको शीर्ष स्थानमा रहेका छन् । उक्त टोलीका ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ र विमल बस्नेत अहिलेका एसएसपीमध्ये बरिष्ठ हुन् ।
त्यसपछि भने अहिले काठमाडौं प्रहरी परिसरको कमाण्ड लिएका विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर डिआईजी बढुवाका प्रमुख दाबेदार रहेका छन् । उनीहरु एसपीबाट एसएसपीमा बढुवा हुँदा पहिलो लटमा परेका ११२ टोलीका अधिकृतहरु हुन् ।
त्यसैबाहेक मुकुन्द मरासिनी, तारा थापा, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, प्रविण पोखरेललगायतका डिआईजी बढुवाका दाबेदार रहेका छन् ।
आईजी दिपक थापाले कमाण्ड सम्हालेसँगै सरुवा बढुवामा अपवादबाहेक मापदण्ड अनुरुप नै भएको पाइएको छ । त्यसकारण डिआईजी बढुवामा पनि बरियता र कार्य क्षमताकै आधारमा बढुवा गरिनेमा अधिकृतहरु विश्वस्त देखिन्छन् । केही सीमित अधिकृतबाहेक अधिकांश अधिकृतहरु पर्ख र हेरकै अवस्थामा रहेका छन् भने यसअघि नै देखिनै राजनीतिक दलका नेताहरुको सहयोग लिनेहरुले दौडधूप गरिरहेका छन् ।
तर, आईजी थापाले मापदण्ड निर्देशिकालाई नै पहिलो प्राथमिकता दिएको उदाहरणपछि शीर्ष बरियताका र कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका प्रहरीहरु दौडधूपमा लागेका छैनन् ।

