कम्पनीले उत्पादन मापदण्ड फेर्दा महंगिए गाडी, यस्ताे छ नयाँ मुल्यसूची


काठमाडौं – आयातमूखी अर्थतन्त्र भएका कारण अन्तर्राष्ट्रिय बजारमा कुनै वस्तुको मूल्यवृद्धि हुँदा त्यसको असर सिधा असर नेपालमा पर्ने गरेको छ । यस्तै असरले पछिल्लो समय सवारीसाधनको मूल्य बढेको छ ।

विश्व बजारमा कच्चा पदार्थको मूल्यवृद्धि र भारतमा उत्पादन हुने गाडीको मापदण्ड परिवर्तन हुँदा नेपालमा मूल्यवृद्धि भएको हो । भारत स्ट्यान्डर्ड (बीएस) ६ मापदण्ड अनुसार गाडी उत्पादन गर्दा लागत बढेकाले मूल्य पनि बढेको व्यवसायी बताउँछन् ।

भारतमा यसभन्दा पहिले विएस–४ मापदण्डका गाडी उत्पादन हुने गरेको थियो । हाल भारतले बीएस –६ को मापदण्ड अनुसार गाडी उत्पादन गर्न थालेको छ । त्यसको उत्पादन लागत बढी हुन्छ । त्यही गाडी नेपालमा ल्याएर बेचिने भएकाले केही मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।

साथै, विश्व बजारमा गाडी उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थको मूल्यवृद्धिले पनि असर गरेको उनीहरु बताउँछन् । नयाँ मापदण्डमा उत्पादन भएका गाडीले पुरानो गाडीको तुलनामा कम प्रदुषण फैलाउने बताइएको छ । गाडी उत्पादनको मापदण्ड परिवर्तन भएपछि उत्पादक कम्पनीले नै मूल्यवृद्धि गरेका हुन् ।

यससँगै भारतबाट नेपाल गाडी ल्याएर विक्री गर्ने आधिकारीक विक्रेताहरुले पनि नेपालमा गाडीको नयाँ मूल्य कायम गरेका छन् । भारतबाट नेपालमा ल्याएर बिक्री हुने गाडीको मूल्य कम्तिमा ५० हजार रुपैयाँले बढेको छ । निशानको आधिकारीक विक्रेता कम्पनी पायोनियर मोटो कर्पले टर्बो सेग्मेन्टको गाडीको मूल्यवृद्धि गरेको छ ।

कम्पनीका अनुसार म्याग्नाइट टर्बो भेरियन्टको गाडीको मूल्य वृद्धि भएको हो । यो गाडीको नयाँ मूल्य २९ लाख ४९ हजार कम्पनीले तोकेको छ । हाल यो कम्पनीले फोर्डको फिगो, एस्पायर, फ्री स्टायल, इकोस्पोर्ट, इन्डेभर, रेन्जर मोडलका गाडी बिक्री गर्दै आएको छ ।

टोयोटा गाडीको मूल्य पनि वृद्धि भएको छ । टोयोटाले हाइलक्स २८ सय सीसीको ४ लाख र हाइलक्स २४ सय सीसीको गाडीमा पनि ४ लाख मूल्य बढेको जनाएकाे छ । हाइलक्स २८ सय सीसीको गाडीको मूल्य १ करोड ५ लाख थियो । अहिले १ करोड ९ लाख पुगेको छ । त्यस्तै, हाइलक्स २४ सय सीसीको गाडी पहिले ९१ लाख थियो भने त्यसमा ४ लाख रुपैयाँ मूल्य बढेर ९५ लाख पुगेको जानइएकाे छ ।

टोयोटाको आधिकारीक विक्रेता कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेटले ८ वटा मोडलको गाडी बिक्री गर्दै आइरहेको छ । टोयोटा कम्पनीको प्राडो, ल्याण्डक्रुजर, कोरोला क्रस,  र्‍याभ फोर, रस लगायतका गाडीको मूल्य यथावतै रहेको कम्पनीले जानकारी दिएको छ । मूल्यवृद्धि भएर आएका आइलक्स गाडीमा फिचर थपिएको कम्पनीले बताएको छ ।

फोर्ड गाडीको पनि ६ वटा मोडलमध्ये फ्रि स्टाइल १.२ टाइटानियमको मूल्य बढेको छ । फोर्ड फ्रिस्टाइल १.२ टाइटानियमको मूल्य ५० हजारले बढेको छ । उक्त गाडीको मूल्य कम्पनीले ३४ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । फोर्ड गाडीको नेपालको अधिकृत बिक्रेता गो फोडले अन्य गाडीको मूल्य भने यथावत नै रहेको जानकारी दिएको छ । फ्रिस्टाइल १.२ टाइटानियमको मूल्य भारतमा नै बढेर आएको नेपालको अधिकृत विक्रेताले जानकारी दिएको छ ।

सो कम्पनीका अन्य गाडीको मूल्य भने यथावत रहेको छ । यो कम्पनीले हाल इकोस्पोर्ट, इन्डेभर, फोर्डको फिगो, एस्पायर, फ्री स्टायल, रेन्जरलगायत मोडल विक्री गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा विक्री गर्दै आएको हुण्डाइ गाडीको पनि मूल्य वृद्धि भएको छ । कम्पनीले हुण्डाईको गाडीमा ६० हजारदेखि २ लाखसम्म मूल्य बढेको बताएकाे छ ।

सो कम्पनीले विक्री गर्दै आएको ७ मोडलमध्ये ३ वटा गाडीको मूल्य बढेको कम्पनीले बताएको छ । ग्राण्ड स्यान्ट्रो, ग्राण्ड आइ–१० नियोस, न्यू क्रेटालगायत तीन मोडलका गाडीको मूल्य बढेको हो । स्यान्ट्रो र ग्राण्ड आइ–१० को मूल्य ६० हजार रुपैयाँले बढेको कम्पनीले जानकारी दिएकाे छ । न्यू क्रेटाको अहिले १ देखि २ लाखसम्म मूल्य वृद्धि भएको छ । नयाँ मूल्यअनुसार स्यान्ट्रोको मूल्य २४ लाख ५६ हजार रुपैयाँ, ग्राण्ड आइ १० को मूल्य ३१ लाख ५६ हजार रुपैयाँ रहेको छ । न्यू क्रेटाको ४७ लाख ५६ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

टाटाका विभिन्न मोडल परिवर्तन भएर आएका नयाँ गाडीको मूल्य पनि वृद्धि भएको छ । कम्पनीले टाटाका मोडल परिवर्तन भएर आएका गाडीहरुको न्यूनतम ५ प्रतिशत मूल्य वृद्धि भएर आएको जनाएकाे छ । टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले केही समयअघि विएस–६ मापदण्ड अन्तर्गतका पाँचवटा मोडलका गाडी सार्वजनिक गरिसकेको थियो । टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एचफाइभ लगायत गाडीको न्यूनतम ५ प्रतिशत मूल्य वृद्धि भएको हो ।

प्रतिक्रिया