

साउदीमा अलपत्र ४६९ नेपालीको उद्दारका लागि आग्रह

काठमाडौं- नेकपा एमालेले साउदी अरबमा अलपत्र परेका ४६९ नेपाली कामदारको उद्दार गर्न सरकारसँग माग गरेको छ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले साउदीको जुबेल सहरस्थित सेन्डन इन्टरनेशनल कम्पनी बन्द भएपछि नेपाली कामदार समस्यामा परेको जानकारी गराउँदै तुरुन्त उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनका अनुसार कम्पनीमा दुई वर्षभन्दा बढी काम गरेका अधिकांश नेपाली तलबबिनै अलपत्र छन्। उनीहरूको खानपिन र बसोबासको अवस्था पनि नाजुक रहेको छ। साउदीले बहिरगमन भिसा प्रक्रिया रोक्दा उनीहरू फर्कन पनि नसक्ने अवस्थामा छन्।
बर्तौलाले त्यहाँस्थित नेपाली दूतावासलाई सक्रिय बनाउँदै पीडितको समस्या समाधानमा सरकार अग्रसर हुनुपर्ने बताए। पीडित कामदारहरूले दूतावासमा उद्दारको माग गर्दै निवेदन पनि दिएका छन्।

