

सरकारी अस्पतालमा सस्तो औषधी सुनिश्चित गर्न समिति गठन

काठमाडौं – सर्वसाधारणले सुपथ मूल्यमा औषधी सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यसहित सरकारले नेपाल औषधी लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा पुर्याउन समिति गठन गरेको छ।
स्वास्थ्य सेवा पहुँच र औषधीको उपलब्धता सुधार गर्न गठित उक्त समिति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजनमा बनेको हो। समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा नेपाल औषधी लिमिटेडका अधिकारी सहभागी छन्।
सरकारी उत्पादन भए पनि सिटामोल, जीवनजलजस्ता आधारभूत औषधी बजारमै नपाइने गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा समिति गठन गरिएको हो। मन्त्री पौडेलले वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरूसँग छलफल गर्दै औषधी बिक्री र वितरण प्रणालीमा सहजीकरण गर्न तत्काल कदम चाल्न निर्देशन दिएका थिए।
“लिमिटेडका उत्पादन निरन्तर सञ्चालन हुनु आम नागरिकलाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने प्राथमिक सर्त हो,” मन्त्री पौडेलले भने, “हामीले उत्पादनको गुणस्तर सुनिश्चित गर्न विश्व स्वास्थ्य संगठन को प्रमाणन प्रक्रिया समेत अघि बढाएका छौँ।”
उनले सरकारी अस्पतालमा अनिवार्यरूपमा उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधी पनि नेपाल औषधी लिमिटेडबाट खरिद गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको जानकारी दिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले समितिको सुझावका आधारमा कार्यान्वयनका लागि आवश्यक निर्णय लिइने बताए।

