र्याप फरक संगीत हो, भिटेनको अश्लील पारा होइन
काठमाडौं– र्यापर भिटेन (समीर घिसिङ)को नयाँ गीत ‘पारा’ युट्युवको ट्रेन्डिङमा जाँदै गर्दा यसका अश्लील शव्द र प्रहरीमाथि गरिएका प्रहारबारे प्रहरी प्रधान कार्यालयको ध्यान तानियो र साईबर व्युरोलाई पत्र लेखियो।
प्रधान कार्यालयको पत्र थियो– यसका गायक, शव्द रचनाकार भिटेनलाई कानुनी दायरमा ल्याउनु। यो खबर बाहिरीनासाथ सांगितिक क्षेत्रका व्यक्तिले भिटेनको बचाऊमा अभिव्यक्ति दिन सुरु गरे, राजनीतिक र सामाजिक व्यक्तिले कारबाही हुनुपर्ने तर्क अघि सारेका छन्।
के भिटेन सही थिए? उनको संगीतको मर्म र अर्थ के हो? भन्ने बहस अनिवार्य देखियो।
पश्चिम अफ्रिकाबाट विकास भएको ¥याप संगीतको मर्म हो, फरक हिसाबले पहिचना दिलाउन सक्नु, आफ्नो आवाजलाई सुनाउन सक्नु। अन्तर्राष्ट्रिय डिक्सनीरहरूका अनुसार र्याप संगीतको एउटा प्रकार हो, जहाँ शव्द गाइँदैन, चाँडो–चाँडो बोलिन्छ सुरिलो लयमा। केही मानिसका लागि र्याप भनेको हिपहप पुस्ताका लागि नयाँ संगीत हो, जहाँ हल्ला खल्लामा सांगीतिक प्रारूप देखिन्छ।
चर्चित र्यापर जे–जेडले आफ्नो आत्मकथामा भनेका छन्,‘हामी संवादबाट परिवर्तन चहान्छौं, निषेधबाट होइन। यो एउटा विद्रोहको संगीत हो तर अश्लीलता र मानमर्दनको प्रयोगका निम्ति होइन।’
उनले संगीतका विषयमा जोड दिँदै अगाडि थपेका छन्,‘यदि बिट समय हो भने लय वा सुरचाहिँ हामी त्यो समयमा जे गर्छौं त्यहि हो, बिट जहाँसुकै हुन्छ तर हरेक जीवनले त्यसमा एउटा आफ्नै लय भेट्छ। त्यस्तो सृजनामा अश्लीलतता पटक्कै हुँदैन।’
उनले आत्मकथाका कुनै पनि अध्यायमा ¥यापमा अश्लील वा अरुलाई होच्याउने शव्दको प्रशंशा गरेका छैनन् ।
भिटेनले ‘पारा’मा कुनै सामाजिक विद्रोहको अर्थपूर्ण तर्क गरेका छैनन्। अश्लील शव्दको उपयोग गरी आफ्नो पुस्ताको ध्यान खिच्ने र चर्चामा आउने बाटो समातेका छन्। यस्तो चर्चालाई संगीतको उन्नयन र ख्यातीको कोणबाट टिप्पणी गर्न नमिल्ने संगीतका जानकारहरू बताउँछन्।
सामाजिक रूपमा निषेध गरिएका शव्द, होच्याउने शैलीलाई समातेका कारण भिटेनको ‘पारा’लाई निषेध गरिनु स्वभाविक हुने कतिपयको बुझाई छ । एक बरिष्ठ संगीतकर्मी भन्छन्,‘हिपहप संगीतलाई बलियो बनाउनका निम्ति कसैलाई होच्याउनु पर्दैन, हुर्मत लिनु पर्दैन। तर पारामा अश्लील शव्द र कुनै एक संगठनका कर्मशीललाई होच्याउने काम गरिएको छ।’
संगीतले विद्रोहसहित समाजमा सन्देशको समेत प्रवाह गरी प्रभाव छाड्ने भएकाले सही कामलाई मात्र प्रोत्साहन गर्न सकिने बुझाई धेरैको छ । आफ्नो काम ख्याती र प्रख्याती भन्दा पनि ‘ट्रेन्डिङ’ र विख्यातीका लागि भएको स्वीकारेकै कारण भिटेनले ‘पारा’लाई युट्युवमा प्राइभेट गरेका छन् ।
‘यदि यो संगीतका माध्यमबाट सामाजिक बिद्रोह वा न्यायका निम्ति गरिएको कडा काम भएको भए भिटेन गल्ती स्वीकार्ने वा झुक्ने थिएनन्’, एक बरिष्ठ संगीतकर्मी भन्छन्,‘यसैकारण पनि उनले चर्चा वा ट्रेन्डिङमा आइरहेको गीतलाई हटाए वा नीजिकरण गरे।’
कतिपय विषय नेपालको साइबर कानुनको प्रतिकूलमा व्याख्या हुने भएकाले पनि त्यसलाई छानबिनको दायरा वा निषेधको कसीमा राख्नैपर्ने हुन्छ । त्यसो त भिटेनले यसअघि पनि प्रहरीको पोशाक लगाएर गाँजा तानिरहेको र अश्लील शव्द प्रयोग गरेको भिडिओका कारण हिरासतमा बस्नु परेको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखामा लिखित रुपमा नै अब आइन्दा यस्ता कुनै पनि हर्कत वा व्यवाहार नदेखाउने, समाजमा प्रतिकूल सन्देश जाने भिडिओ नबनाउने सर्तमा नै उनी कानुनी कारबाहीको प्रक्रियाबाट उन्मुक्त भएका थिए । फेरि जानाजान बनाएको यस्तो भिडिओलाई संगीतको उन्नयन होइन, भिटेनको अश्लील पाराका रुपमा नै व्याख्या गर्नुपर्ने स्पष्ट देखिन्छ ।