

राजाहरूले देशलाई कंगाल बनाए : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको बताए।
देश कंगाल बनाउने काम राजाहरू गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताउँदै उनले देशलाई विकसित, बस्न लायकको बनाउनै पर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ, भनेर लाजै मान्दैन। यो देश कंगाल बनाउने त यिनीहरू हुन् त। अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ। तथ्यांक, आँकडाले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला। त्यसपछि के भयो ?’
उनले देश आफैंले बनाउनुपर्ने भन्दै अगाडी थपे, ‘देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ। यो त देवभूमि हो। यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ। यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा।’
प्रधानमन्त्री ओलीले अहिलेको पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्ने बताए।

