भारतको किट विश्वविद्यालयमा फेरि अर्की नेपाली छात्रा मृत फेला


काठमाडौं- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छिन्। पर्सा जिल्लाको वीरगञ्ज निवासी स्नातक तह प्रथम वर्षमा अध्ययनरत प्रिसा साह बिहीबार साँझ विश्वविद्यालयको छात्रावास ‘क्विन्स क्यासल–४’ को चौथो तलामा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्।

विश्वविद्यालय प्रशासनले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई घटनाको पुष्टि गरेको छ। दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सञ्जिव शर्माका अनुसार साँझ करिब ७:३० बजे नियमित निरीक्षणका क्रममा साहले ढोका नखोलेपछि जबर्जस्ती ढोका खोलेर हेर्दा उनी मृत फेला परेकी हुन्। घटनापछि प्रहरीले उक्त कोठालाई नियन्त्रणमा लिएको छ।

एक नेपाली विद्यार्थीका अनुसार अहिले विश्वविद्यालयमा समर भ्याकेसनका कारण धेरै विद्यार्थी घर फर्किसकेका छन्। तर प्रथम वर्षका विद्यार्थीहरूको परीक्षा चलिरहेको छ। मृतक पनि परीक्षा दिनकै लागि होस्टेलमा बसिरहेकी थिइन्।

 गत फागुन ४ गते रुपन्देहीकी प्रकृति लम्साल पनि सोही विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी थिइन्। उनको आत्महत्यापछि विश्वविद्यालय प्रशासनप्रति नेपाल र भारत दुवै देशमा व्यापक विरोध भएको थियो। प्रिसा साह पनि लम्साल बस्दै आएको होस्टेलमै बस्दै आएकी थिइन्।

हाल प्रिसा साहको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया