महिमानसिंहले किन रेशम चौधरी पक्राउ गर्न पत्र लेखे ?


काठमाडौं— टीकापुर घटनामा दोषी ठहर भइसकेका र राष्ट्रपतिको आममाफीपछि छुटेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट पत्र काटिएपछि देशभर चासो बढेको छ। उक्त पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्ट स्वयं अहिले प्रहरी हिरासतमा छन्।

विष्टले पत्र लेख्नुको कारण कानुनी भन्दा पनि भावनात्मक देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनका अनुसार टीकापुर घटनामा मारिएका व्यक्तिहरूको सम्झनाले आफूमाथि गहिरो प्रभाव पारेको थियो। प्रहरीसँगको बयानमा विष्टले भनेका छन्, “टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, उनीहरूको आत्माले पोल्यो, त्यसैले पत्र लेखेँ।”

तर उनले लेखेको पत्र राष्ट्रपतिको आममाफीको निर्णयविपरीत रहेको भन्दै सर्वोच्च प्रशासनले पहिले आन्तरिक छानबिन गर्‍यो। सो पत्र कानुनी रूपमा वैध नभएको पुष्टि भएपछि उनलाई सोधपुछका लागि बोलाइएको थियो। अनुसन्धानपछि प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको हो।

विष्टले राष्ट्रपतिबाट माफी पाइसकेका रेशम चौधरीलाई पुनः सजाय कार्यान्वयन गर्न पत्र लेख्दा कानुनी प्रक्रियाको उल्लंघन भएको निष्कर्ष प्रहरी र न्यायिक स्रोतहरूले दिएका छन्। हाल विष्ट प्रहरी हिरासतमा छन् र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र आधिकारिक नभएको बताएको छ । केन्द्रीय कारागार डिल्लीबजारलाई पत्र लेख्दै सर्वोच्चबाट नाउपाका संस्थापक चौधरीलाई पक्राउ गर्न आएको पत्र आधिकारिक नभएको बताएकाे हाे ।

अदालतले पक्राउ परेका चाैधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुराेध गरेकाे छ ।

 

 

प्रतिक्रिया