कैलालीमा ‘प्रचण्ड’द्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण


कैलाली- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनाथ तथा सहिद परिवारका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्।

भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आयोजित शैक्षिक कार्यक्रममा अध्यक्ष प्रचण्डले अल्पसंख्यक राजी समुदायकी कक्षा ३ की छात्रा निन्दु राजी र सहिद परिवारकी कक्षा १० की छात्रा अनिशा थरूनीको सम्पूर्ण शिक्षादेखि भविष्य निर्माणसम्मको जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रचण्डले दुवै बालिकालाई शैक्षिक सामग्रीसहितको झोला हस्तान्तरण गरे। साथै उनले विद्यालयको शैक्षिक पात्रो पनि विमोचन गरे।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षामा पार्टी प्रतिवद्ध रहेको दोहोर्‍याउँदै सामाजिक न्याय र समानताको पक्षमा माओवादी आन्दोलनले उठाएका मुद्दाहरू अझै सान्दर्भिक रहेको धारणा व्यक्त गरे।

 

प्रतिक्रिया