

चुरोट र रक्सी महँगो बनाउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

भक्तपुर- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्य तीनगुनासम्म बढाउने प्रस्ताव अघि सारेका छन्।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमीको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक उद्घाटन समारोहमा सोमबार बोल्दै मन्त्री पौडेलले अहिले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ र एक हजार रुपैयाँ पर्ने रक्सीको मूल्य तीन हजार रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको जानकारी दिए।
उनका अनुसार यसरी प्राप्त हुने अतिरिक्त राजस्वमध्ये केही हिस्सा स्वास्थ्य बिमा कार्यक्रममा लगानी गरिनेछ। “यदि यस्तो व्यवस्था हुन सकेमा स्वास्थ्य बिमा कार्यक्रम जीवन्त बन्नेछ, नत्र खारेज गर्नुपर्ने अवस्था आउन सक्छ,” मन्त्री पौडेलले स्पष्ट पारे।
त्यसैगरी, उनले हाल एक लाख रुपैयाँसम्मको सीमामा रहेको स्वास्थ्य बिमाको सीमा पाँच लाख रुपैयाँ पुर्याउने तयारी भइरहेको समेत जानकारी दिए।

