आवासीय चिकित्सकको आन्दोलन, आकस्मिकबाहेक सबै सेवा ठप्प


काठमाडौं- सरकारले तोकेको निर्वाह भत्ता उपलब्ध गराउन माग गर्दै देशभर आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। सरकारले एमडी, एमएस र एमडीएस आवासीय चिकित्सकलाई मासिक ४८,७३७ रुपैयाँ भत्ता दिने निर्णय गरेको भए पनि कार्यान्वयन नहुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनका कारण सरकारी अस्पताल र निजी मेडिकल कलेजहरूका बहिरंग (ओपीडी) सेवा पूर्णरूपमा बन्द भएका छन्। आपत्कालीन तथा सघन उपचार सेवाहरू भने यथावत् सञ्चालनमा छन्।

नेपाल चिकित्सक संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आकस्मिक सेवाबाहेक अन्य सेवामा सहभागी नहुन आग्रह गरेको छ। संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले एक महिनादेखिको आन्दोलनमा सरकार गम्भीर नभएकाले बाध्य भएर सेवा बन्द गरिएको बताए।

आन्दोलनरत चिकित्सकहरूले नियमित भत्ता उपलब्ध नहुन्जेलसम्म नियमित सेवा अवरुद्ध गर्ने चेतावनी दिएका छन्। सर्वसाधारणले भोग्नुपरेको असुविधाप्रति संघले क्षमा माग्दै यसको जिम्मेवारी सरकारलाई नै जाने बताएको छ।

प्रतिक्रिया