

स्कुटर दुर्घटनामा परे एमाले मकवानपुर अध्यक्ष पोखरेल

मकवानपुर- नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल शनिबार बिहान स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका छन् । ब्रेक फेल भएर स्कुटर अनियन्त्रित भई भएको दुर्घटनामा पोखरेललाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
बिहान करिब ८ बजे हेटौँडा उपमहानगरपालिका-५ स्थित पुष्पलाल पार्कअगाडि दुर्घटना भएको हो ।
पोखरेल आफैंले चलाउँदै गरेको बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर एक्कासि अनियन्त्रित भई पल्टिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
पोखरेलको स्वास्थ्य अवस्था गम्भीर रहेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

