

पाकिस्तान–भारतबीच तनाव चुलिँदा सीमामा सुरक्षा सतर्कता, लडाकु विमान तैनाथ

एजेन्सी – जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ मा बन्दुकधारीद्वारा भएको आक्रमणमा २६ पर्यटकको मृत्यु भएपछि भारतद्वारा सम्भावित कारबाहीको आशंकामा पाकिस्तानले आफ्नो सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ।
पाकिस्तानी सेना प्रमुख असिम मुनीरले मंगलबार साँझ आकस्मिक रूपमा तीनवटै सेनाका कमाण्डरहरूको बैठक डाकेका थिए। बैठकपछि कराँची एयरबेसबाट लाहोर र रावलपिन्डीस्थित वायुसेना स्टेशनहरूमा १८ लडाकु विमान तैनाथ गरिएको पाकिस्तानी सैन्य स्रोतहरूले जनाएका छन्।
यससँगै पाकिस्तान प्रशासित कश्मीर (पीओके) क्षेत्रमा भारतबाट आक्रमण हुन सक्ने आशंकामा नियन्त्रण रेखा (एलओसी) आसपास सैनिक परिचालन थपिएको छ। करिब ७४० किलोमिटर लम्बाइको एलओसी क्षेत्रमा लश्कर समूहका लन्च प्याडहरू सक्रिय रहेको दाबी गर्दै पाकिस्तानी सेनाले सुरक्षा तयारी कडा पारेको हो।
स्थिति थप संवेदनशील बन्न सक्ने आँकलन गर्दै पाकिस्तानले अरब सागर क्षेत्रमा फायरिङ अभ्यास समेत सुरु गरेको छ। दुई देशबीच पुनः तनाव बढ्दै जाँदा क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी विश्लेषकहरूले दिइरहेका छन्।

