

निजी मेडिकल कलेजले भत्ता नदिए सबै काम बन्द हुने मन्त्री पौडेलको चेतावनी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता नदिए तालुकदार मन्त्रालयसँग सम्बन्धित कुनै पनि काम अघि नबढ्ने चेतावनी दिएका छन्।
बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री पौडेलले सरकारको निर्णय जुनसुकै हालतमा पनि कार्यान्वयन हुने दोहोर्याए।
उनले गत माघ २५ गते चिकित्सा शिक्षा आयोगको बैठकले गरेको निर्णयअनुसार निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ भत्ता दिनुपर्ने बताए । साथै साे निर्णय पालना नगर्ने मेडिकल कलेजहरूसँग कुनै किसिमको सहकार्य नहुने बताए।
“निजी मेडिकल कलेजले सरकारको निर्णय नमान्ने भए मन्त्रालयमा उनीहरूसँग सरोकार राख्ने कुनै पनि काम अगाडि बढ्दैन,” मन्त्री पौडेलले भने, “सरकारले निर्णय गरिसकेको छ, अब कार्यान्वयन नगर्नेहरूप्रति कारबाही प्रक्रिया अगाडि बढ्छ।”
उनले आवासीय चिकित्सकको माग जायज रहेको बताउँदै पीजी र युजी विद्यार्थीका विषय छुट्टै भएकोले निर्वाह भत्ता विषयलाई सिट र शुल्कसँग नजोड्न पनि आग्रह गरे।
केही सातादेखि माइतीघर मण्डलादेखि मन्त्रालयसम्म आन्दोलनमा रहेका आवासीय चिकित्सकहरूले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका छन्। मन्त्री पौडेलले सरकारले पीजी चिकित्सकको योगदानलाई मूल्यांकन गर्दै उनीहरूको हकहित सुनिश्चित गर्न पछाडि नहट्ने विश्वास दिलाए।

