

टोखामा वरिष्ठ सई पाण्डेको दादागिरीले व्यवसायी त्रसित, ग्राहक पनि तनाव झेल्दै

काठमाडाैं – काठमाडौं उपत्यकाको टोखा प्रहरी चौकीमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) वीरेन्द्र पाण्डेको दादागिरीले व्यवसायीहरु दिनप्रतिदिन आजित भइरहेको गुनासो बढेको छ ।
जनताको सुरक्षाका लागि खटिएको प्रहरीबाटै त्रस्त हुनुपर्दा अहिले टोखाका व्यवसायीहरू व्यवसाय नै छाड्ने मनस्थितीमा पुगेका छन् । टोखा विगतमा शान्त र विकासोन्मुख व्यापारिक क्षेत्रका रूपमा चिनिन्थ्यो । तर, अहिले प्रहरीकै कारण भयको माहोलमा परिणत भएको व्यवसायीहरूको गुनासो छ ।
टोखा बजार क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न रेष्टुरेन्टका सञ्चालकहरुका अनुसार प्रहरीले रेष्टुरेन्टहरूमा दैनिकजसो हस्तक्षेप गर्ने, ग्राहकलाई धम्क्याउने, रेष्टुरेन्ट अगाडि नै चेकिङ राखेर व्यवसायमा असर पुर्याउनेजस्ता कार्यहरू गर्न थालेको छ ।
‘१० बज्न नपाइँ स्टाफलाई उठाएर लगिदिन्छ,’ एक व्यवसायीले दुखेसो पोखे, ‘अब त स्टाफहरूले काम गर्नै मान्दैनन् । लगेर मेडिकल जाँच गर्ने, झमेला पार्ने काम भइरहेको छ ।’
उनका अनुसार प्रहरी आफैं परिवारसहित आएर रेष्टुरेन्टमा खाना खाने, चालिसौं हजार रुपैयाँको बिल उठाउने तर पैसा नतिर्ने प्रवृत्ति देखिएको छ । ‘आउँदा त ब्ल्याक लेबल नै खानुपर्छ भन्छन् । ग्राहकहरू खाइरहेका बेलामा नै धम्क्याउँछन्,’ एक अर्का व्यवसायीले भने, ‘१० नबज्दै चेकिङ सुरु हुन्छ । ग्राहकहरू डराएर उठ्छन् । जसका कारण व्यवसाय नै धरापमा परेको छ ।’
व्यवसायीहरूका उनको यस्तो व्यवहार ६–७ महिनादेखि चलिरहेको छ । वैशाखदेखि असारसम्म विशेषगरी बालुवा बोक्ने सवारी चालक तथा व्यवसायीसँग पैसा उठाउने, रेष्टुरेन्ट व्यवसायीमाथि अनावश्यक दवाब सिर्जना गर्ने काम भइरहेको उनीहरुको दुखेसो छ । ‘९ हजार पर्ने डबल ब्ल्याक मागेर लैजान्छन्,’ अर्का व्यवसायीले आरोप लगाए ।
यसरी त्रास बढेसँगै धेरैजसो रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरूले जागिर छाडेका छन् । प्रहरीको दमनकारी रवैयाले व्यवसायीकै मनोबल गिरेको छ । देशमै केही नयाँ गर्ने सोच लिएर व्यवसाय थालेका युवाहरू पनि निराश बनेका छन् ।
एक व्यवसायी भन्छन्, ‘यो देशमा इमानदारीपूर्वक व्यवसाय गर्न खोज्नेहरूलाई नै निरुत्साहित गर्ने वातावरण बन्दैछ । प्रहरीजस्तो संवेदनशील निकायमा बसेर व्यापार ध्वस्त पार्न लाग्छ भने सामान्य नागरिक कहाँ सुरक्षित हुनसक्छ ?’ ‘बैंकमा ऋण लिएर व्यावसाय सुरू गरे पनि अहिले प्रहरीकै कारण व्यवसाय पूर्णरूपमा सञ्चालन गर्न कठीन भइरहेको छ, यस्तै ताल हो भने त सटर लगाएर हिँड्नुको अर्को विकल्प छैन,’ उनले गुनासो पोखे । उनले थपे, ‘कुनै बेला व्यवसाय गर्दा गुण्डागर्दीसँग डराउनु पर्ने अवस्था थियो, अहिले प्रहरीसँग डराउनुपरेको छ ।’ उनले केही प्रहरीका कारण सिंगो संगठन नै बदनाम हुने गरेको जनाउँदै सम्बन्धित निकायले समयमै पाइला चाल्नु पर्ने समेत जनाए ।
व्यवसायीका अनुसार ती वरिष्ठ सई वीरेन्द्र पाण्डे गृहमन्त्री रमेश लेखकनिकट मानिन्छन् । सोही कारण उनको शान नै बेग्लै हुने गरेको व्यवसायीहरुको भनाई छ । एक पटक उनी टोखाबाट तानिए पनि पुनः लेखककै जोडबलमा पुनः टोखा पुगेको समेत जनाइएको छ ।
टोखा बजारका व्यवसायीहरूले प्रशासन र सम्बन्धित निकायसँग उक्त समस्याबाट पार पाउनका लागि उनीमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।

