

सशस्त्रका एआईजी गौतम आजदेखि अवकाशमा जाँदै

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । जसले सशस्त्र प्रहरीको उच्च नेतृत्वमा नयाँ प्रतिस्पर्धा सुरु गराएको छ ।
३० वर्षे सेवा अवधि पूरा गरेका गौतम मंगलबार राति १२ बजेदेखि औपचारिक रूपमा सेवा निवृत्त हुँदैछन् । उनलाई सशस्त्र प्रहरी मुख्यालयले मंगलबार दिउँसो ३ बजे बिदाइ गर्ने कार्यक्रम तय गरेको छ ।
गौतम हाल सीमा सुरक्षा विभागको प्रमुखका रूपमा कार्यरत थिए । उनी २०५२ साल वैशाख ३ गते नेपाल सेनामा भर्ती भएका थिए भने सशस्त्र प्रहरी बलको गठनपछि २०५८ सालमा त्यहीँ स्थानान्तरण भएका थिए । उनको नेतृत्वकालमा सीमा क्षेत्रमा सुरक्षालाई थप प्रभावकारी बनाइएको भन्दै उनको भूमिका सराहनीय मानिन्छ ।
गौतमको अवकाशसँगै सशस्त्र प्रहरीमा एआईजी स्तरको एक पद खाली हुने भएको छ, जसमा बढुवा प्रक्रिया तीव्र हुने देखिएको छ । हालै मात्र सेवा अवधि थपिएका डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी लगायत सि.सं. १ का अन्य वरिष्ठ अधिकारीहरू एआईजी पदका लागि बलिया दाबेदार मानिएका छन् ।

