

वर्षा गराउने प्रणाली उत्तरपूर्व सरेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं- नेपालमा प्रि–मनसुनको सक्रियता बढ्दै जाँदा जल तथा मौसम पूर्वानुमान महाशाखाले सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहितको वर्षा भइरहेको छ, र यो प्रणाली क्रमशः उत्तर–पूर्वतर्फ सर्दैछ ।
मौसमविद्हरूले विशेषगरी प्रि–मनसुनको समयमा हावाहुरी, चट्याङ र भारी वर्षाका कारण जनधनको क्षति हुने सम्भावना बढी रहने बताउँदै आएका छन् । हावाको तीव्र गतिले घर टहरा उडाउने, रुख ढल्ने तथा चट्याङ पर्नेजस्ता घटना वर्षेनी हुने भएकाले महाशाखाले यस्तो मौसमी गतिविधिको बेला अतिरिक्त सावधानी अपनाउन आग्रह गरेको हो।
महाशाखाले मौसम परिवर्तनको सूचना नियमित रूपमा प्राप्त गर्न र अत्यावश्यक नपरेसम्म खुला आकाशमुनि ननिस्कन नागरिकलाई सल्लाह दिएको छ । साथै, स्थानीय तहलाई सम्भावित जोखिमका आधारमा पूर्वतयारी गर्न पनि सुझाव दिइएको छ ।

