सशस्त्रमा एआईजी पदावधि थपिए केसी तीन हप्ते आईजी, नथपिए राई लाइनमा


काठमाडौं– सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था नियममा छ। यही व्यवस्थामा टेकेर सरकारले सशस्त्रका नायब महानिरीक्षक (डीआईजी)द्वय मन्दिप श्रेष्ठ र खड्ग राईको पदावधि थप गरेको थियो, २४ माघ २०७७ मा।

सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वय खड्गबहादुर राई र मन्दिप श्रेष्ठको मिति २०७७–१०–२७ गतेदेखि मिति २०७८–१०–२६ गतेसम्म १ वर्ष पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यद्यपि, पदावधि एक वर्ष थप नभएको भए २७ माघ २०७७ मा उनीहरूले अवकाश पाउँथे। ‘नियमावलीमा भएको व्यवस्थालाई टेकेर सरकारले संगठनको हितमा राम्रोसँग काम गरेका व्यक्तिलाई पदावधि थप गर्नसक्छ,’ सशस्त्रका एक बहालवाला अधकिृतले अनलाइनन्यूजसँग भने।

आगामी २० वैशाख २०७८ मा सशस्त्रका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय पुष्पराम केसी र रामशरण पौडेलको चार वर्षे पदावधि सकिँदैछ।

२१ वैशाख २०७४ मा सरकारले केसी, पौडेल र नारायणबाबु थापालाई डीआईजीबाट एआईजीमा बढुवा सिफारिस गरेको थियो। तर, ३० वर्षे सेवा अवधिको कारण थापा एआईजीबाट रिटायर्ड भइसकेका छन्।

अब सशस्त्र प्रहरीमा दुई जना एआईजी केसी र पौडेलको पदावधि सकिनै लाग्दा थप गर्न संगठन भित्र चर्को खेल सुरु भएको छ। एआईजीहरूको पदावधि थप्न सशस्त्र महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल अनिच्छुक छन् भने एआईजीद्वय केसी र पौडेलले गृह मन्त्रालयको ढोका ढक्ढक्याउन थालेका छन्।

सशस्त्र स्रोतका अनुसार आईजी खनाल दुवै जना एआईजीको पदावधि थप्न नहुने लबिङमा कम्मर कसेर लागि परेका छन्। संगठनको नेतृत्व हाँकेका खनाल आफैं थप गर्न नहुने पक्षमा लागेपछि एआईजीद्वय केसी र पौडेलले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर आफ्नो समस्या राखेका छन्।

पदावधि सकिन एक महिना बाँकी रहँदा आईजी खनालले प्रक्रिया अघि नबढाउनु र आफूलाई काम गर्न असहज भएको भन्दै पदावधि एक वर्ष थप गर्नुपर्ने पक्षमा रहेका एआईजीद्वयलाई गृहमन्त्री बादलमाथि नै शंका छ। किनकि गृहमन्त्री बादल पहिल्यैदेखि उनीहरूको कामसँग सन्तुष्ट छैनन्।

पदावधि थप भए ३ हप्ता आईजी हुन्छन् केसी

सरकारले पदावधि थप गरेमा केसीले सशस्त्र मुख्यालय, हल्चोकमा आफ्नो फोटो झुड्याउन पाउँछन्। २९ चैत २०७८ देखि २१ वैशाख २०७९ सम्म केसीले सशस्त्र मुख्यालयमा आफ्नो फोटो झुड्याउँछन्।

२८ चैत २०७८ सम्म आईजी खनालको कार्यकाल छ। आईजी खनालको कार्यकाल सकिएपछि ३ हप्ताको लागि केसीले सशस्त्र प्रहरीको नेतृत्व सम्हाल्ने मौका पाउँछन्।

वर्तमान आईजी खनाल एआईजी भएको करिब ११ महिनापछि केसी, थापा र पौडेल एआईजी भएका थिए।

पदावधि थप नभए राईको सम्भावना

एआईजीद्वय केसी र पौडेलको एक वर्ष पदावधि थप नभए रिक्त ठाउँमा कसलाई सरकारले बढुवा सिफारिस गर्छ? चासोको विषय छ। यस विषयमा अहिल्यैदेखि गृहमन्त्रालयले आफ्नो गृहकार्य अगाडि बढाइसकेको छ।

रिक्त दुई एआईजीको ठाउँमा डीआईजीहरू मन्दिप श्रेष्ठ, खड्ग राई, प्रविण श्रेष्ठ, नारायण पौडेल र राजु अर्यालमध्ये दुई जनाले एआईजी हुने अवसर पाउनेछन्। दुई एआईजीको लागि मन्दिप, खड्ग, प्रविण, नारायण र राजुबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यता, मन्त्रालयले खड्ग राई र मन्दिप श्रेष्ठलाई एआईजी बनाउने तयारी थालिसकेको गृहका एक अधिकारीले भने। गृहमन्त्री निकट रहेका खड्ग राईको आईजी बन्ने सम्भावना रहेको ती अधिकारीले अनलाइनन्यूजलाई जानकारी दिए।

प्रतिक्रिया