

भूमिसम्बन्धी अध्यादेश फिर्ता गरेर विधेयकका रूपमा ल्याउने सत्ता गठबन्धनको सहमति

काठमाडौं – सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयकका रूपमा ल्याउने सहमति गरेको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा सत्तापक्षको बैठकमा उक्त सहमति जुटेको हो। सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अरू अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका थिए।
तर भूमि अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिएको थिएन।सरकारले गत पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो । यद्धपि, भूमि सम्बन्धी अध्यादेश माघ २ गते मात्रै जारी भएको थियो ।
त्यसअगाडि १४ पुसमा सहकारी सम्बन्धी अध्यादेश ल्याएको थियो । यीमध्ये ५ वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेको छ ।
५ वटै अध्यादेश प्रतिस्थापन विधेयक संसदमा बिचाराधीन छ । तर, भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृत समेत हुन सकेको छैन ।
यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमती भएको हो ।

