

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार

सुनसरी- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए। आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ। दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो। भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।
हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ। आगो नियाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए।

