प्रहरी संगठनमा सुधार आवश्यक: आईजी थापा


काठमाडौं – नवनियुक्त नेपाल प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले प्रहरी संगठनमा सुधार आवश्यक रहेको बताएका छन् ।

गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरी संगठनलाई सुधार गर्न अब ढिला गर्न नहुने बताएका छन् ।

“प्रहरी समाजकै उपज हो। समाजमा राम्रा र नराम्रा पक्षहरूको प्रतिबिम्ब नेपाल प्रहरीले पनि बोकेको छ। हामीले ती पक्ष लुकाएर वा दबाएर सुधार गर्न सक्दैनौं। प्रहरी संगठनमा सुधार आवश्यक छ, र त्यसका लागि साइत कुरेर बस्ने समय छैन,” आईजी थापाले भने ।

उनले सुधार व्यक्तिबाट नभई स्वयंभित्रैबाट सुरु हुनुपर्ने बताउँदै सबै प्रहरी कर्मचारीलाई इमानदारिता र निष्ठाका साथ अघि बढ्न आग्रह गरे ।

सुधारका लागि पारदर्शी मूल्यांकन र निष्पक्ष नीति
आईजी थापाले प्रहरी संगठनभित्र कार्यक्षमताको उचित मूल्यांकन गर्ने, योग्य नेतृत्वलाई पुरस्कृत गर्ने र कमजोरी देखाउनेलाई कारबाही गर्ने स्पष्ट नीति लिने बताएका छन् ।

“प्रहरी कर्मचारीहरूले वृत्ति विकास र पदोन्नतिका क्रममा कुनै अन्याय भोग्न नपरोस् भनेर म सधैं सचेत रहनेछु। पहुँचका आधारमा होइन, प्रक्रियागत प्रणालीमार्फत न्याय सुनिश्चित गर्न प्रयासरत हुनेछु,” उनले भने ।

निष्पक्षता र कर्तव्यनिष्ठ प्रहरी सेवा
प्रहरी संगठनको सर्वोच्च पदमा पुगेपछि आफ्नो जिम्मेवारी झन् गम्भीर बनेको उल्लेख गर्दै थापाले कुनै पूर्वाग्रह नराखी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

नेपाल प्रहरीलाई व्यावसायिक र सक्षम बनाउन सदस्यहरूको आधारभूत आवश्यकतामा ध्यान दिइने भन्दै उनले संगठन सुदृढीकरणका लागि गृहमन्त्रालयको निरन्तर साथ रहने विश्वास व्यक्त गरे ।

“संघीय संरचनाअनुसार कानूनको कार्यान्वयन, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, सुशासन र सामाजिक न्याय सुनिश्चित गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ समर्पित रहिरहनेछ,” आईजी थापाले बताए ।

 

 

 

 

प्रतिक्रिया