आखिर आमालाई कुराएरै गए शालीन नेता जोशी


कांग्रेसका शालीन नेता नवीन्द्रराज जोशी मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका बेला उनकी आमाले जोशीलाई कुर्दै गरेको तस्बिरले सामाजिक सञ्जाल भरिएको थियो । आज, शुक्रबार अन्ततः आमा कुरेको कुर्र्यै भइन्, फर्केनन् जोशी ।

गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार साँझ ८ः२४ मा निधन भएको अस्पतालले जनाएको छ ।

नेपाली कांग्रेसमा शालीन एवं बौद्धिक नेताको पहिचान बनाएका जोशी धेरैले चिन्ने नेपाली कांग्रेसका नेता । कांग्रेस भन्दा पनि किशोरावस्थादेखि नै नेपाली राजनीतिमा उपस्थिति देखाउन सफल जोशी २७ वर्षकै उमेरमा काठमाडौंको उपमेयर भएका थिए । उनी नेपाल विद्यार्थी संघको राजनीतिक यात्राबाट राजनीतिमा प्रवेश गरेका थिए ।

१६ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यमा निर्वाचित भएका जोशी २२ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको महासचिव भएका थिए । त्रिचन्द्र क्याम्पसका विद्यार्थीसमेत रहेका जोशी १८ वर्षको उमेरमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा निर्वाचित समेत भएका थिए ।

पछिल्लो समयमा कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फरमेसनका प्रबन्ध निर्देशक समेत रहेका जोशी वीर गणेशमान एकेडेमीका सभापति समेत थिए । र, कमैलाई थाहा भएको उनको अर्को परिचय छ, वीर गणेशमान भन्ने चलचित्रका निर्माता । लौहपुरुष गणेशमान सिंहको नाममा बनेको चलचित्र वीर गणेशमानका निर्माताका रुपमा पनि जोशी रहेका थिए ।

पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वकालमा उद्योग मन्त्रालयको जिम्मेवारी बहन गरेका जोशी संविधानसभाको दुवै निर्वाचनमा काठमाडौं क्षेत्र नं. ८ बाट विजयी भएका थिए भने पछिल्लो निर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट पराजित हुन पुगेका थिए । जोशीका श्रीमती र एक छोरी छन् ।

प्रतिक्रिया