मेडिसिटी अस्पतालले उपचारमा लापरबाही गरेको आरोप, ५ करोडको क्षतिपूर्ति दाबीसहित मुद्दा


काठमाडौं-  उपचारमा लापरबाही गरेर बिरामीलाई मृत्युको मुखमा पुर्‍याएको भन्दै ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता भएको छ । गत असोज १ गते  मुटुको उपचार र मृगौलाको डायलासिस गर्ने भन्दै काठमाडौंकाे वनस्थलीका ज्ञानप्रसाद रिमाल अस्पतालमा  भर्ना भएका थिए । तर, उनकाे असोज ४ गते मृत्यु भएकाे थियाे ।

चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचारमा लापरबाही गरेकै कारणा उनकाे मृत्यु भएकाे परिवारकाे आरोप छ ।  लापरबाहीकै कारण मृत्यु भएकाे भन्दै परिवारले अस्ति कात्तिक ४ गते ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन् ।

रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपाल आएका उनी  मुटुको उपचार र मृगौलाको डायलासिसका लागि मेडिसिटी अस्पतालमा भर्ना भएकाे फिरादपत्रमा उल्लेख छ । सुरुमा उनलाई मुटुको इसीजी गराइएको थियो । बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएको थियो ।

असोज २ गते डा रञ्जितकुमार शर्माको टोलीले इन्जीयोग्राम सफलतापूर्वक सम्पन्न गरेर १ बजे आइसीयूमा सारेको जानकारी परिवारलाई गराएका थिए । परिवारका सदस्यहरूलाई पनि उक्त समयमा भेट गर्न दिइएको बताइएको छ ।

बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्केका थिए । असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराइएकाे थियाे । तर, सोही दिन राति नौ बजेदेखि बिरामीको हातमा फोका देखा पर्न थालेको थियो । रातभरि बिरामीको अपडेट नपाएपछि परिवार भोलिपल्ट बिहान ६ बजे अस्पताल पुग्दा हातमा टेपको एलर्जी भएको र रगत बगेको भनेर जानकारी गराएको तर हात पूरै फोकाले समस्याग्रस्त भएको कुरा अस्पतालले लुकाएको फिरादपत्रमा उल्लेख छ ।

अन्तमा हातको शल्यक्रिया गरेको र उक्त शल्यक्रियानपछि अत्यधिक रक्तस्राव भएर बिरामीको मृत्यु भएको फिरादपत्रमा दाबी गरिएकाे छ । हातमा देखिएको फोकाकै कारण मृत्यु भएको भनी रिपोर्ट लेखिएको र अस्पतालले आफ्नो लापर्बाहीले मृत्यु भएपछि परिवारसँग कुनै पनि शुल्क नलिइ शव पठाएको र सात लाख रुपैयाँ गलत उपचारका कारण छुट गरेर घटना लुकाउन खोजेको फिरादपत्रमा उल्लेख छ ।

रिमालकी छोरी ज्योति रिमाल आफै चिकित्सक भएका कारण अस्पतालले उपचारमा लापरबाही गरेको थाहा भएकाे हाे ।

 

प्रतिक्रिया