
चर्चामा लरेन्स बिश्नोई, ‘इन्काउन्टर’ गर्ने पुलिसलाई एक करोड ११ लाख दिने घोषणा
काठमाडाैं- भारतीय ग्याङ्स्टर लरेन्स बिश्नोईको नाम अहिले चर्चामा रहन्छ । एनसीपी नेता बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको थियो । यस बाहेक यो गिरोहले अभिनेता सलमान खानलाई पनि धम्की दिएको छ । यसैबीच, अब एक संस्थाले लरेन्स बिश्नोईको टाउकोकाे पुरस्कार राखेको छ ।
क्षत्रिय कर्णी सेनाले जेलमा रहेका गुण्डा लरेन्स बिश्नोईको इन्काउन्टर गर्नेलाई पुरस्कार दिने घोषणा गरेको छ । नवभारत टाइम्सको रिपोर्टका अनुसार क्षत्रिय कर्णी सेनाका राष्ट्रिय अध्यक्ष राज शेखावतको एउटा भिडियो बयान छ, जसमा उनले लरेन्स बिश्नोईको इन्काउन्टर गर्ने कुनै पनि प्रहरी अधिकारीलाई १, कराेड ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
साबरमती कारागारमा छन् बिश्नोई
राज शेखावतले कथित रूपमा यो रकम लरेन्स बिश्नोईको इन्काउन्टर गर्ने कुनै पनि सुरक्षाकर्मीलाई दिइने बताए । उनले यस गिरोहको धम्कीलाई लिएर केन्द्र र गुजरात सरकारलाई पनि आक्रमण गरे । लरेन्स बिश्नोई हाल गुजरातको साबरमती जेलमा छन्, जहाँ उनीविरुद्ध सीमापारबाट लागूऔषध तस्करीको मुद्दा दर्ता भएको छ ।
सलमान खानको घर बाहिर गराएका थिए फायरिङ
अप्रिलमा मुम्बईमा बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानाहानको घटनामा पनि उनको नाम आएको थियो । तर, मुम्बई प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेन । सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा क्षत्रिय कर्णी सेना प्रमुखले लरेन्स बिश्नोई हाम्रो बहुमूल्य रत्न र सम्पदा, अमर शहीद सुखदेव सिंह गोगामेडी जीका हत्यारा पनि हुन् भनी बताएका छन् ।
सन् २०२३ मा सुखदेव सिंह गोगामेडीको हत्या
करणी सेनाका प्रमुख सुखदेव सिंह गोगामेडीलाई ५ डिसेम्बर २०२३ मा जयपुरमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए । उनको हत्या भएको केही घण्टापछि लरेन्स बिश्नोई गिरोहले उनको हत्याको जिम्मेवारी लिएको थियो । बिश्नोईको बलियो आपराधिक गिरोह देशभर सक्रिय छ ।
गायकको घरमा गोलीबारी
बिश्नोई गिरोहले सेप्टेम्बर २०२३ मा खालिस्तानी समर्थक सुखा दुनाकेको हत्याको जिम्मेवारी पनि लिएको थियो । बिश्नोईको गिरोहका सदस्यहरूले क्यानडामा एपी ढिल्लन र गिप्पी गरवालको घर बाहिर पनि गोली चलाएको थियाे ।
लरेन्स बिश्नोईको गिरोहले बाबा सिद्दिकीको “डन दाउद इब्राहिमसँगको सम्बन्ध” र सलमान खानसँगको घनिष्ठ व्यक्तिगत सम्बन्धका कारण हत्या गरेको बताइएकाे छ । बलिउड अभिनेता र उनको परिवारलाई पछिल्ला केही वर्षमा धेरै जसो गुण्डाहरूबाट ज्यान मार्ने धम्की आएको छ । सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा उच्च सतर्कतामा छ ।



कागजपत्र |
