भक्तपुरको प्रत्यारोपण केन्द्रका निर्देशक अंग तस्करीमा संलग्न भएकाे आरोप, फेरि चर्कियो आन्दोलन


काठमाडाैं- भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयवासीले फेरि आन्दोलन सुरु गरेका छन् । दसैँअघि एक महिना दिनसम्म चलेको आन्दोलन पुनः सुरु भएको हो ।

सोमबारदेखि सुरु भएको आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी रहेकाे छ । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु सङ्घर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार बिहान अस्पतालको गेट अगाडि प्रदर्शन गरिएको छ ।  प्रदर्शनमा स्थानीय संघ संस्था एवम् गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरू पनि प्रदर्शनमा उत्रिएका थिए ।

अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।  स्थानीयले दसैँअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई भेटेर विभिन्न चरणमा ज्ञापन पत्र एवम् ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठलाई तत्काल बर्खास्तको माग गरेका थिए ।

असोज ४ गते आन्दोलनकारीका तर्फबाट विष्णुकुमार पौड्याल, चन्द्रलाल सुवाललगायतले स्वास्थ्य मन्त्रीलाई भेटेर कार्यकारी निर्देशक डा.श्रेष्ठ मानव अंग तस्करीमा संलग्न भएको र अस्पतालमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तत्काल बर्खास्तको लिखित माग राखेका थिए ।

प्रतिक्रिया