इन्स्पेक्टर गिरी भए प्रदेशकै उत्कृष्ट अनुसन्धानकर्ता
काभ्रे — काभ्रे जिल्ला इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज प्रहरी निरिक्षक (इन्स्पेक्टर) कृष्ण गिरी उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारबाट सम्मानित भएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले इन्स्पेक्टर गिरीलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा पुरस्कारसहित सम्मान गरेका हुन् ।
इन्स्पेक्टर गिरीले नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा समेत उत्कृष्ट कार्य गरेको भन्दै कदर स्वरुप ‘उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गरिएको मुख्यमन्त्री लामाले जनाए ।
यसैअघि काभ्रे जिल्लाकै प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का पनि उत्कृष्ट विपद व्यवस्थापकको पुरस्कारबाट पुरस्कृत भएकी थिइन् ।