बाढी–पहिरो पीडितका लागि विश्व बैंकले २० अर्ब ऋण दिने


काठमाडौं – विश्व बैंकले नेपालमा हालैको बाढीपहिरो पीडितका लागि करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिले ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको हो । बाढी–पहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बाढी–पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तर्राष्ट्रिय समुदायको गतिविधिका कारणले मौसममा आएको प्रभाव वा स्वास्थ्य वा सामाजिक क्षेत्रमा आउने विपत्ति सामना गर्न विश्व बैंकले यस्तो ऋण दिनेगर्छ । विश्व बैंकले स्वीकृत गरेको उक्त ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ ।

नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव र जटिल अवस्थाको सामना गर्न ऋण सहयोग लिन सक्ने बताएका छन् ।

प्रतिक्रिया