दुई महिनामा साढे सात अर्बको बिजुली भारत निर्यात


काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । दुई महिनाको बिजुली निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुग्दा अहिले बिजुली निर्यात प्रभावित भइरहेको बताएका छन् । चालु आर्थिक वर्षमा ३० अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात लक्ष्य राखेर बाढी पहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा बिजुली उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताएका छन् ।

प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन बिजुली बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले अहिलेसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको छ ।

बाढी पहिरोभन्दा पहिले दैनिक नौ सय मेगावाटको हाराहारीमा बिजुली निर्यात भइरहेको थियो । अहिले दैनिक डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढी पहिरोका कारण सञ्चालनमा रहेको सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित झण्डै सात सय ५० मेगावाट बिजुली उत्पादन बन्द छ । गएको आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको बिजुली निर्यात गरी नेपाल खुद बिजुली आयातकर्ताबाट खुद बिजुली निर्यातकर्ता बनेको थियो ।

प्रतिक्रिया