रविलाई थापाको प्रश्न : कारबाही सिफारिसको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ, कहाँ पढ्नुभएको हो ?


काठमाडाैं- सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्ष-विपक्षमा बहस भइरहेको छ।

सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहेका छन् भने लामिछाने पक्ष पनि आफू निर्दोष प्रमाणित भएको दाबी गर्दै भ्रम फैइलारहेका छन् ।

यसैबीच छानबिन विशेष समितिका सभापति सूर्य थापाले कारबाहीको सिफारिस क्लिन चिट हुन्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरूलाई प्रश्न गरेका छन् । हिजाे एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले कुन हरफमा क्लिन चिट लेखिएको भन्दै प्रश्न गरेका हुन्।

‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौं हामीलाई छान्नुस् भन्ने‍ मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘क्लिन चिट कहाँ छ ? कुन लाइन, कुन प्यारामा छ? कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ । सफाइ हुन्छ ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो ? कुन विश्वविद्यालयमा हो ? ’

थापाले गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टिभी लगायतका मिडिया सञ्चालन गर्न सबै सहकारीको पैसा खर्च गरेको बताएका छन् । उनले गोरखा मिडिया निटवर्कले खर्च गरेकोमध्ये ६५ करोडभन्दा बढी रकम सहकारीहरूबाट त्यहाँ प्रवाह भएको बताए ।  ‘त्यो ६५ करोडबाहेक गोरखा मिडिया नेटवर्कले एक वर्षमा कमाएको १० करोड गएको छ । अरू कहीँको फुटेको कौडी गएको छैन । सबै सहकारीको पैसा गएको छ,’ उनले भने ।

प्रतिक्रिया