

सगरमाथा भन्दा अन्य हिमाल चढ्ने आरोही बढी

काठमाडौं – हिमाल आरोहणको सिजन नजिकिँदै गर्दा सगरमाथा भन्दा अन्य हिमाल चढ्ने आरोहीको संख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म कुल ५ टोलीका ४५ जनाले यो सिजनमा हिमाल चढ्न अनुमति लिइसकेका छन् । यो पाँच टीम सगरमाथा भन्दा अन्य हिमाल चढ्ने योजनामा रहेको विभागले जनाएको छ ।
९ मार्चमा पहिलो अनुमति जारी भएको थियो । उक्त अनुमति माउण्ट नुप्त्सेका लागि थियो । त्यसयता मनास्लुका लागि एक जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल चढ्न भने सबैभन्दा बढी तीन समूहका ४० जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस पटक सगरमाथा आरोहणका लागि बहराइनबाट एक टोली आएको छ । हालै क्वारेन्टिनको समय सकाएको यो टोलीले अझै विभागबाट अनुमति भने लिइसकेको छैन ।
८८ लाख रोयल्टी संकलन
मंगलबारसम्म जारी अनुमति पत्रबाट सरकारले ८८ लाख २३ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ । वसन्त ऋतुमा हिमाल आरोहण गर्दा सबैभन्दा बढी मूल्य तिर्नुपर्छ । यो सिजन आरोहणका लागि सुरक्षित मानिने भएका कारण आरोहीको आगमनसमेत यस समयमा बढी हुन्छ ।

