हालसम्म जापानिज इन्सेफलाइटिसबाट १४ जनाको मृत्यु


काठमाडौं- हालसम्म जापानिज इन्सेफलाइटिस(जेई)बाट १४ जनाको मृत्यु भएको पाइएकाे छ ।

यो रोगबाट कैलाली जिल्लामा ३, कपिलवस्तुमा १, पाल्पामा १, चितवनमा १, सिन्धुलीमा १ रौतहटमा १, सर्लाहीमा १, सिरहामा २, सुनसरीमा २ र झापामा १ जना गरी १४  जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाको तथ्यांकले जनाएकाे छ ।  हालसम्म ६१  जनामा यो रोगको संक्रमण देखिएको छ ।

गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सात जनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुसार जापानिज इन्सेफलाइटिसका धेरैजसो विरामी १५ वर्ष मुनीका छन् । प्रयोगशालाको अनुसार मुलुकमा जेई को बिरामी हरेक वर्ष अगस्त देखि सेप्टेम्बर महिनामा उच्च देखिने गरेको छ ।

प्रतिरक्षा क्षमता कमजोर भएकाले बालबालिका बढी संक्रमित हुने र खोप नलिएका अन्य उमेरका मानिस पनि संक्रमित हुने बताइएको छ ।

जापानिज इन्सेफलाइटिस संक्रमति लामखुट्टेले टोके मानिसमा यो रोगको संक्रमण हुन्छ  । क्युलेक्स प्रजातिको लामखुट्टेले यो रोग सार्छ । यो भाइरस भने सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ  । यस्ता पशुपन्छीलाई लामखुट्टेले टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ। तर मानिसबाट मानिसमा यो रोग सर्दैन ।

प्रतिक्रिया