कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


काठमाडौं- सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने आदेश जारी गरेको छ ।

आइतबार नेपाल बीमक संघ र १२ निर्जीवन बीमा कम्पनीले कोरोना बीमा सम्बन्धमा सरकार विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिटमा आज छलफल गर्दै सर्वोच्च अदातलले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

आज भएको आदेश अनुसार सरकारले पत्र वा सूचना प्राप्त गरेको १५ दिन भित्र सर्वोच्चमा कोरोना बीमाको दावीका लागि रकम निकासा नगरेको सम्बन्धमा लिखित कारण पेश गर्नुपर्ने छ । सरकारले लिखित कारण पेश गरेपछि यस मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजालसले यस्तो आदेश दिएको हो । सर्वोच्चले यो रिटलाई अग्राधिकार (प्राथमिकता) मा राख्ने निर्णय पनि गरेको छ । यस अनुसार सर्वोच्चले द्रुत गतिमा यसको पेसी तथा सुनुवाई प्रक्रिया अघि बढाउने छ ।

प्रतिक्रिया