काठमाडौंसहित ५ जिल्लामा डेंगुका ५ सय बढी सङ्क्रमित, ६ जिल्लामा फैलियो हैजा


काठमाडौं-  काठमाडौंसहित ५ जिल्लामा ५ सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ  । डेंगु फैलिएका ७५ जिल्लामध्ये तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित रहेका हुन् ।

हालसम्म तनहुँमा १ हजार ११६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, कास्कीमा ६४५, पर्वतमा ५८७, चितवनमा ५१७ र काठमाडौँमा ५११ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।  यी जिल्लामामात्रै ३ हजार ३७६ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

मध्य माघपछि ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भइसकेको पनि ईडीसीडीले जनाएको छ ।

यस्तै देशका ६ जिल्लामा हैजा फैलिएको छ । ईडीसीडीको तथ्याङ्क अनुसार पछिल्लो पटक रोल्पाका ४ जनालाई हैजा पुष्टि भएको छ ।

ईडीसीडीका अनुसार साउन ४ यता देशभर ७५ जनामा हैजा पुष्टि भएकोमा ७४ जना निको भइसकेका छन् भने एक जना अस्पताल भर्ना भइ उपचाररत छन् ।

देशभर पुष्टि भएको हैजा सङ्क्रमितमध्ये रोल्पाका ४ जना बाहेक ५० जना ललितपुरका छन् । यस्तै, काठमाडौँका १० जना, कैलालीका ८ जना छन् । यस्तै, मकवानपुरमा १ जनालाई सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

 

प्रतिक्रिया