हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलियो डेङ्गी, हैजाका संक्रमित ६७ जना पुगे


काठमाडौं- वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको संक्रमण बढेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको संक्रमण देखिएको बताए ।

७५ जिल्लामा ५ हजार एक सय १९ जनामा डेङ्गी रोगको संक्रमण देखिएको छ। यसवर्ष हालसम्म ३ जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

काठमाडौँ जिल्लामा चार सय २१, भक्तपुर ५८ र ललितपुर ७९ जनामा  डेङ्गी संक्रमण देखिएको छ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको संक्रमण बढेको हो ।

यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, मकवानपुर र कैलाली हैजाका बिरामी भेटिएको बताए ।

उनका अनुसार ललितपुरमा ४७ काठमाडौँमा ९, कैलालीमा ८, प्यूठान दुई, मकवानपुर १ जनामा हैजा पुष्टि भएको छ । हैजा अति संक्रामक र शिघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

प्रतिक्रिया