धनगढीमा आचार्य कृष्णबहादुर दमाई नगदसहित सम्मानित


कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाले संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) गरेका कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । कृष्णबहादुरले दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य उपाधि लिएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३, तिलकपुरका कृष्णबहादुरले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन् ।

दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य गरेको भन्दै कृष्णबहादुरलाई धनगढी उपमहानगरपालिकाले नेपालमा भएका ७५३ स्थानीय तहमध्ये सबैभन्दा पहिले नगदसहित सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

धनगढी उपमहानगरपालिकाले शनिबार नगरसभाको हलमा एक कार्यक्रमका बीच आचार्य कृष्णबहादुरलाई नगद एक लाख ५१ हजार सहित सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफू पहिलादेखि नै समाजमा विभेद हटाउने अभियानमा लागेको बताउँदै अझै जातिय छुवाछुत रहेको हाम्रो समाजलाई प्रेरणा दिन आचार्य कृष्णबादुर दमाईलाई नगदसहित सम्मान गरेको बताए ।

प्रतिक्रिया