भारतमा डाक्टरको बलात्कार र हत्या प्रकरण : ‘ब्लूटूथ’ डिभाइसले आरोपी पक्राउ, आज ‘साइको-एनालाइसिस’ टेस्ट 


काठमाडाैं- भारतकाे पश्चिम बंगालको राजधानी कोलकातामा एक प्रशिक्षार्थी महिला डाक्टरको निर्ममतापूर्वक बलात्कारपछि गरिएकाे हत्याले सबैलाई स्तब्ध बनाएको छ । यो घटनाले महिलाको सुरक्षामा फेरि प्रश्न खडा गरेको छ ।

अस्पतालजस्तो सार्वजनिक स्थान पनि महिलाका लागि सुरक्षित छैन भने अन्य ठाउँको अवस्था कस्तो होला ? यस घटनाका आरोपीले आफूलाई बचाउन हरसम्भव प्रयास गरेका थिए । तर, केही प्रमाण छोडेर गएकाले उनी अहिले प्रहरीकाे कब्जामा पुगेका छन् ।

कोलकाताको के आरजी कार मेडिकल कलेजमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएकाे थियाे ।  मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो । घटनापछि प्रहरीले सञ्जय रोयलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यो घटनाले विश्वकै ध्यान तानेकाले अहिले सीबीआइले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रहरीले कुनै उल्लेखनीय प्रगति नगरेको भन्दै व्यापक आक्रोश पछि कोलकाता उच्च अदालतले मुद्दा सीबीआईलाई हस्तान्तरण गरेकाे हाे । सीबीआईले अहिले यस विषयमा अनुसन्धान गरिरहेको र छिट्टै सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

कसरी पक्राउ परे सञ्जय रोय ?

सीसीटीभी फुटेजमा सञ्जय रोय घटना भएको दिन बिहान ४ बजे आरजी कार मेडिकल कलेज तथा अस्पतालको आकस्मिक भवनमा प्रवेश गरेको देखिएकाे थियाे । उनले आफ्नो घाँटीमा ‘ब्लूटूथ इयरफोन’ लगाएका थिए। तर, ४० मिनेटपछि जब उनी भवनबाट बाहिर निस्किए उनकाे इयरफोन हराइरहेको थियो । प्रहरीले पीडित डाक्टरको शव नजिकै ब्लूटूथ डिभाइस फेला पारेको थियाे।  अनुसन्धान गर्दा त्यो डिभाइस सञ्जय रोयको मोबाइलको ब्लुटुथमा जडान भएको खुल्याे । यसरी प्रहरीले त्याे दुष्कर्ममा सञ्जय रोयको सम्बन्ध रहेकाे फेला पारेको थियाे ।

कोलकाता पुलिसको अनुसन्धानले रोयको मोबाइल फोनमा धेरै अश्लील पोर्न भिडियो क्लिपहरू रहेको खुलासा गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उनले कुनै पश्चाताप बिना नै आफ्नो अपराध स्वीकार गरेका छन् । उनले प्रहरीलाई भने, ‘ मलाई फाँसी दिन सक्नुहुन्छ।’

सञ्जय रोयका छिमेकीहरूले उनको व्यक्तिगत जीवनका बारेमा धेरै कुरा बताएका छन् । उनले धेरै विवाह गरेको आरोप लगाइएकाे छ । उनको दुर्व्यवहारका कारण उनका तीन श्रीमतीले उनलाई छोडेका थिए । गत वर्ष उनको चौथो श्रीमतीको क्यान्सरका कारण मृत्यु भएको थियो ।

पोष्टमार्टम रिपोर्टका ५ खुलासा

हत्याको आरोपमा पक्राउ परेका व्यक्ति घर फर्किएपछि सुतेका थिए । उनले भोलिपल्ट बिहानै उनले प्रमाण नष्ट गर्न कपडा पनि धोए । अभियुक्तले प्रमाण नष्ट गर्ने हरसम्भव प्रयास गरे पनि प्रहरीले आरोपीको जुत्तामा रगतको दाग फेला पारेको थियो । यस घटनाका अभियुक्त नगरपालिकाका स्वयंसेवक रहेको बताइएको छ । पीडितको नङमा छाला र रगत फेला परेको थियो । त्याे रगत र छाला आरोपी सञ्जय रोयको अनुसन्धानबाट खुलेकाे छ ।

-अस्वाभाविक कामुकता र यौनजन्य यातनाका कारण प्रशिक्षार्थी चिकित्सकको गोप्य भागमा गहिरो घाउ भेटिएको थियो ।
– चिच्याउनबाट जोगाउन उनकाे नाक, मुख र घाँटी लगातार थिचियो । घाँटी थिचेर थाइराइड कार्टिलेज भाँचिएको थियो ।
-टाउको भित्तामा थिचिएको थियो, ताकि उनले चिच्याउन नसकुन । पेट, ओठ, औंला र देब्रे खुट्टामा चोटपटक देखिएको छ ।
– टाउकाे ठाेक्दा उनले लगाएकाे चश्माका टुक्रा उनको आँखामा पसे । दुवै आँखा, मुख र गुप्तांगबाट रगत बगेको थियो ।
-युवतीकाे अनुहारमा नङका घाउहरू फेला परेका थिए ।

प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका अभियुक्त सञ्जय रोयको मनोवैज्ञानिक परीक्षण हुने भएको छ । CBI को CFSL टोली परीक्षणको लागि कोलकाता पुगेको छ। सीबीआई अभियुक्त सञ्जय रोयको मानसिक अवस्था पत्ता लगाउन यो परीक्षण गरिएको हो । स्रोतका अनुसार सञ्जय रोयको फोनबाट धेरै आपत्तिजनक सामग्री र भिडियोहरू बरामद भएका छन्। यस्तो अवस्थामा अनुसन्धान एजेन्सीहरूले बलात्कार र हत्याको कारण पत्ता लगाउन आरोपीको मानसिक अवस्था पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

आज हुनेछ साइको-एनालाइसिस टेस्ट 

महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त सञ्जय रोयको साइको-एनालाइसिस टेस्ट (मनोविश्लेषण परीक्षण) गरिने भएको छ । यसमार्फत सीबीआईले सञ्जय रोयको दिमागकाे जाँच गर्नेछ र यस घटनाको सम्पूर्ण सत्यता पत्ता लगाउनेछ। यो बारेमा जानकारी दिँदै सीबीआई मुख्यालयका एक वरिष्ठ अधिकारीले भने ‘मनोविज्ञान विशेषज्ञहरूको टोली शनिबार कोलकाता पुगेको छ। जसले यस प्रकरणमा अनुसन्धानकर्ताहरूसँगै अनुसन्धानको दायरा विस्तार गर्न मद्दत गर्नेछ ।’

मनोवैज्ञानिक परीक्षण एक वैज्ञानिक विधि हो जुन व्यक्तिको मानसिक, भावनात्मक र व्यवहारिक गुणहरू परीक्षण गर्न प्रयोग गरिन्छ। यी परीक्षणहरूले व्यक्तित्व, बुद्धि, रुचि, मनोवृत्ति र अन्य मनोवैज्ञानिक विशेषताहरूको मूल्याङ्कन गर्न मद्दत गर्दछ।

स्रोतका अनुसार  सञ्जय रोयको मोबाइलबाट धेरै अश्लील भिडियो भेटिएको थियाे । यस्तो अवस्थामा सीबीआईले अब अभियुक्तले यसअघि कुनै अपराध गरेको छ कि छैन भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ ।  मनोवैज्ञानिक परीक्षणबाट सञ्जय रोयका धेरै रहस्य खुल्न सक्ने अनुमान गरिएको छ ।

अस्पतालमा मानव अंग बेचबिखन र्‍याकेट ?

कोलकाताको आरजी कार मेडिकल कलेजमा ९ अगस्टमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको घटनामा चकित पार्ने जानकारी आएको छ । सीबीआइले अहिलेसम्मको अनुसन्धान र डाक्टरका ब्याचमेटहरूको बयानबाट  मानव अंगको अवैध व्यापारको पर्दाफास गर्ने प्रयास रोक्न प्रशिक्षार्थी डाक्टरलाई बाटोबाट हटाइएकाे खुलासा भएकाे छ ।

एजेन्सीले शनिबार १३ जनालाई सोधपुछ गरेको थियो ।  दुई दिनमा १९ जनासँग सोधपुछ गरिएकाे छ । जसमा आधाभन्दा बढीले अस्पतालबाट मानव अंग तस्करीको र्‍याकेट चलेको जानकारी दिएका छन् । सीबीआई स्रोतले मुद्दाको जरा निकै गहिरो रहेको बताएको छ । तर, बाहिर मुद्दालाई डाइभर्ट गर्न हत्या गरिएको बताइएकाे छ । मेडिकल कलेजमा लामो समयदेखि सेक्स र ड्रग्सको र्‍याकेट चलिरहेको आरोप पनि छ । २३ वर्षअघि सन् २००१ मा कलेज होस्टलमा एक विद्यार्थीको मृत्यु भएको घटनाको सम्बन्ध पनि यससँग जोडिन थालेको छ ।

एक राजनीतिक दलका  वरिष्ठ नेताले आफूसँग डाक्टरहरूको व्हाट्सएप ग्रुपकाे स्क्रिनसट रहेको दाबी गरेका छन् । जसले अस्पतालमा सेक्स र ड्रग्सको र्‍याकेटको खुलासा गरेको छ ।

सीबीआई स्रोतका अनुसार त्याे सुरागपछि सोधपुछका क्रममा मेडिकल कलेजका चार जनाको नाम बाहिर आएको छ । तीमध्ये तीन जना डाक्टर र एक जना कर्मचारी रहेका छन् । चारैजना राजनीतिक दलसँग आवद्ध रहेको र अस्पतालमा सेक्स र ड्रग्सको र्‍याकेट चलाउने गरेको दाबी गरिएको छ । सीबीआईका अधिकारीहरुले ठोस प्रमाण संकलन गरिरहेकाे बताएका छन् ।

पीडितले यसअघि स्वास्थ्य भवनमा पनि यसबारे गुनासो गरेको अस्पतालका एक चिकित्सकले बताएका छन् । तर, कारबाही भएन । प्रशिक्षार्थी डाक्टरले प्रमाणसहित सामाजिक सञ्जालमा पूरै घटना सार्वजनिक गर्ने योजना बनाएका थिइन् ।

कलेजका विद्यार्थीहरूले पूर्व प्रिन्सिपल सन्दीप घोषलाई सबै जानकारी भएकाे आरोप लगाएका छन् । आरजी कार मेडिकल कलेज तथा अस्पतालमा पोष्टमार्टमका लागि आउने बेवारिसे शवको शरीरबाट अंगहरु पनि निकालिने गरिएकाे आरोप उनीहरूकाे छ । तर, सीबीआईले यसको पुष्टि गरेको छैन।

घटना पछिको चौथो दिन अगस्ट १२ मा सन्दीप घोषले राजीनामा दिएका थिए । सीबीआईले उनलाई शुक्रबार (अगस्ट १६) हिरासतमा लिएको थियो । उनीमाथि शुक्रबार राति अबेरसम्म सोधपुछ गरिएको थियो । त्यसपछि शनिबार (१७ भदौ) साढे १३ घण्टा सोधपुछ भयो ।

२३ वर्ष पहिले पनि भएकाे थियाे युवककाे मृत्यु
प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्याको घटनाले सन् २००१ मा आरजी कार मेडिकल कलेजको होस्टेलमा ३१ वर्षीय सौमित्र विश्वासको मृत्युप्रकरणा पनि बाहिर आएकाे छ ।  प्रहरीले त्यसलाई आत्महत्या भने पनि परिवारका सदस्यले हत्या भनेका थिए । उनकाे पनि सेक्स र्‍याकेटको पर्दाफास हुने डरले हत्या गरिएकाे सहकर्मीहरुले आरोप लगाएका छन् ।

कलेजका एक भूतपूर्व विद्यार्थीले सौमित्रको पालामा यौनकर्मीलाई सेमिनार कोठा र होस्टलमा ल्याउने गरिएकाे दाबी गरेका छन् ।

चिकित्सककाे देशव्यापी हडताल
सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका छन्  । स्वास्थ्यकर्मीले हडतालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दसौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् ।

धेरै राज्यका सरकारी अस्पतालमा उनीहरूले विरोधस्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । प्रदर्शनकारीहरू ‘निको हुने हातबाट रगत बग्न हुँदैन’, ‘इनफ इज इनफ’ ‘बलात्कारीलाई फाँसी दे’ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन्  ।

हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुर्‍याएको छ । हडतालका कारण नेपाली सीमा नाकाबाट उपचारका लागि जानेहरुलाई पनि असर परेको छ । चिकित्सकहरु आन्दोलित हुँदा उपचारका लागि भारतीय अस्पतालमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् ।

मेडिकल कलेज आसपास धारा १६३ लगाइयो
कोलकाता पुलिसले आज (अगस्ट १८) देखि आरजी कार मेडिकल कलेज र अस्पताल नजिक भारतीय न्याय संहिताको धारा १६३ लागू गरेको छ।

भदौ १७ गते अबेर राति जारी गरिएको उक्त आदेशमा आगामी ७ दिन (अगस्ट २४) सम्म विरोध प्रदर्शनमा रोक लगाउने भनिएको छ । अस्पताल आसपास ५ जनाभन्दा बढी भेला हुन, हतियार बोक्न वा तनाव सिर्जना गर्ने कुनै पनि गतिविधि गर्न नपाइने बताइएकाे छ ।  -विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया