एआईजी सरूवाः सिआईबीमा दिपक, मेट्रोमा विवादास्पद किरण


काठमाडाैं – नेपाल प्रहरीका तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा बढुवा भएका एकजना एआईजीलाई पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीको सरुवा तथा एआईजी बढुवा भएका रामदत्त जोशीलाई पदस्थापन गरेको हो । बैठकले नवनियुक्त एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन गरेकाे छ ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरिएको छ ।

सरुवा अनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई सीआईबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी विवादास्पद एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

बज्राचार्य ६१ केजी सुन तस्करी प्रकरणमा मुछिएकी थिइन् । उनलाई पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा गठित सुन तस्करी सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगबाट कारबाहीको सिफारिस गरिएको थियो। उनले सुन तस्करीका संदिग्धलाई जोगाएको आशंकामा  छानबिनपछि कारबाही गर्न आयोगले सिफारिस गरेको थियो । त्यसपछि  तत्कालीन सरकारले सिआईबीको जिम्मेवारीबाट हटाएको थियो तर अहिले उनैलाई पुरस्कारस्वरूप मेट्रोको जिम्मेवारी दिइएको छ ।

बज्राचार्य परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाको भिटो पावरमा मेट्रोमा इन्ट्री मार्न लागेकी हुन् ।

थापालाई सीआईबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा ल्याइएको छ ।

प्रतिक्रिया