
वीर अस्पतालमा व्यापक अनियमितता, सर्तकता केन्द्रले गर्यो छानबिन सुरु
काठमाडौं – मुलुककै सबैभन्दा ठूलो अस्पताल मानिएको वीर अस्पतालमा लामोसमयदेखि चलिरहेको भ्रष्टाचार र अनियमितताको छानबिन सुरु भएको छ । लगातार रुपमा अनियमितता र भ्रष्टाचारको समाचारहरु आइरहेपछि सेवाग्राही र कर्मचारीहरुले विभिन्न निकायमा उजुरी दिएपछि छानबिन सुरु भएको हो ।
जनदबाबका साथै लगातारको उजुरीपछि सतर्कता केन्द्रले वीरमा व्याप्त भ्रष्टाचार र अनियमितताको छानबिन सुरु गरेको हो । अनियमितताका बारेमा जवाफ माग्दा अस्पताल प्रशासन मौन रहेपछि केन्द्रले छानबिन समिति नै गठन गरेर वीरमाथि छानबिन सुरु गरेको छ ।
केन्द्रले मात्र नभई पटकपटक अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि वीरमा भएको भ्रष्टाचारका बारेमा जवाफ मागेको जनाइएको छ ।
वीर अस्पतालमा फर्जी मेडिकल बोर्डको सिफारिस बनाउने, कर्मचारी भर्नामा अनियमितता, टेण्डर प्रकाशनमा अनियमितता गर्ने, अत्यावश्यक औषधीहरुका साथै सामाग्रीहरु खरिद नगरी बिरामीहरुलाई आफूअनुकूलको मेडिकलहरुमा खरिद गर्न लगाउनेदेखि कतिपय अवस्थामा वीरको मेसिनहरु बिग्रिएको भनी आफूसंलग्न रहेको निजी अस्पतालमा उपचारका सिफारिस गर्नेसम्मको अनियमितता हुने गरेको वीरमा उपचार गराउन लामोसमयदेखि धाईरहेका एक भुक्तभोगीदेखि केही कर्मचारी भन्छन् ।
पछिल्लो समय कर्मचारी समायोजनका बेला फर्जी मेडिकल बोर्डको सिफारिस बनाएर दरबन्दीबिना वीरको स्टोर शाखामा कार्यरत टिकाराम पनेरु र युवराज सुवेदी कार्यरत रहेको भन्दै उजुरी परेपछि त्यसका बारेमा केन्द्रले छानबिन सुरु गरेको स्रोतले जनाएको छ । त्यस्तै उनीहरुले आफूनिकट व्यावसायीलाई मध्यनजर गर्दै टेन्डरको स्पेसिफिकेशन बनाएर कमिसनमा टेण्डर लिने र अनुदानमा आएको सामानको पनि बिल बनाएर भुक्तानी लिने गरेको भन्दै उजुरी परेको थियो । त्यसका साथै टेण्डरमार्फत् खरिद गर्नुपर्ने करोडौं रकम मूल्य बराबरका सामाग्री पनि कोटेशनमार्फत् नै खरिद गर्ने गरेको पनि उजुरीमा उल्लेख गरिएको छ । उनीहरुले कमिसनकै लागि करोडौंको अनावश्यक सामान खरिद गरी थन्क्याउने र डेट एक्स्पायर गराउने, कमिसनकै कारण एमआरआईजस्तो अत्यावश्यक मेसिन पूर्ण सञ्चालन नगराउने जस्ता कार्यहरु गरेको भन्दै उजुरी परेको थियो ।
त्यसका साथै अस्पतालका निर्देशक सन्तोष पौडेलले नियमविपरित निजी फार्मेसी सञ्चालन गरिरहेको पनि उजुरी परेको छ । पौडेल अल्का फार्मेसी र सुमेरु सिटि फार्मेसीमा सञ्चालकका रुपमा रहेको पनि उजुरीमा उल्लेख थियो ।
वीर सहकारीको लाखौं रकम हिनामिना भएको पनि कर्मचारीहरुले उजुरीमा उल्लेख गरेका छन् । कतिपय कर्मचारीहरुले भ्रष्टाचार अनियमिताविरुद्ध आवाज उठाउँदा उनीहरुले धम्क्याउने गरेको पनि जनाइएको छ । लामोसमयदेखि वीर अस्पतालको एउटै शाखामा कार्यरत रहेर उनीहरुले गरेको अनियमितताका बारेमा मन्त्रालयले पनि छानबिन सुरु गरेको जनाइएको छ ।



कागजपत्र |
