माइत गइरहेकी कुमारीलाई मापसे गरेका अटोचालकले अन्तै लग्न खोजेपछि…


कैलाली- कैलालीकाे धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी बुधबार माइती घर कञ्चनपुर गइरहेकी थिइन् । त्यसका लागि उनी राजपुरको फ्लोर मिलबाट सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् ।

तर, अटो चालकले गेटाबाट भित्री बाटोमा लैजान खोज्दा उनी आत्तिएर हाम फालिन् । त्यसपछि आत्तिएका अटाेचालकले उनीलाई गेटा मेडिकल कलेज नजिकैकाे मोहना पुल–अत्तरिया ६ लेन सडकखण्डमा छाडेर भागेका थिए ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले मृतकको झोलामा भेटिएको पासपोर्ट साइजको फोटोका आधारमा उनको पहिचान भएको बताए । ‘झोलामा भेटिएको पासपोर्ट साइजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,’ एसपी विष्टले भने, ‘अनुसन्धान गर्दै जाँदा माइती जान हिँडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्री बाटोमा लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।’

मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए । सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन् । उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा अटो चालक र अटोमा सवार उनका साला २३ वर्षीय कालु दमाईलाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

ती महिलाले अटोबाट हाम फालेपछि फसिने डरले भागेको बयान उनीहरूले दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया