आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बङ्गलादेश


काठमाडौं – बङ्गलादेशमा पछिल्ला दिनमा आरक्षणको विरोधमा आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले बङ्गलादेश छोडेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा हाल ३ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको ती मध्ये शनिबारसम्म ८ सय नेपाली विद्यार्थीले बङ्गलादेश छोडेका हुन् ।

उनीहरूले हवाई मार्ग र स्थलमार्ग हुँदै बङ्गलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीपनि बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् ।

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो। परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया