कैलालीमा अस्पताल बनाउने भनेर भाडामा लिइएको जग्गामा निर्माण गरियो चर्च


काठमाडाैं- कैलालीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गरिएको पाइएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो ।

सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ । चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक रहेका छन् ।

चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ । चर्चसँग प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पनि छ । कारको अगाडिको सिसामा अस्पतालको संकेत जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ । इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको स्थानीयले बताएका छन् ।

असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ । छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले जानकारी पाएका हुन् ।

लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने शर्तमा १५ वर्षका लागि ४ कठ्ठा जग्गा लिजमा लिएको थियो । १५ वर्षपछि भवनभण्डारीकै हुने सर्तमा जग्गा लिजमा लिइएको हो । तर, लेट मेइनले करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडा लिनेगरी चर्चलाई भवन प्रयोग गर्न दिएको पास्टर प्रशान्त राईले बताए ।

मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईको दाबी छ ।

सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन् । तर इजाजत प्राप्त गरेको प्रमाण देखाउन भन्दा अर्को दिन देखाउने भन्दै पास्टर राई पन्छिएका छन् ।

प्रतिक्रिया