

वन अतिक्रमण गरेर निर्माण गरिएको टहरामा आगो लगाइयो

पाल्पा – राष्ट्रिय वन अतिक्रमण गरी तिनाउ गाउँपालिका–१ कचल सानीउदाङमा बनाइएको टहरामा शनिबार आगो लगाइएको छ । अतिक्रमण गरेर रुपन्देही, रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले वन क्षेत्रभित्र जग्गा सम्माएर टहरा बनाएका थिए ।
वडाध्यक्ष, स्थानीय सामुदायिक वनका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर टहरामा आगो लगाइएको तिनाउ सव–डिभिजन कार्यालयका प्रमुख रामध्यान शाहले बताए ।
स्थानीय बासिन्दाले पटकपटक वनको जग्ग अतिक्रमण गरेर नबस्न भनेपनि उपाध्यायले अटेरी गरेका थिए । उनले उक्त क्षेत्रमा आफ्नो जग्गा रहेको भन्दै तिनाउ सव–डिभिजनमा लालपूर्जा देखाएपनि दाबी गरेको जग्गा भने जीपीएस नापी गर्दा १ सय १० मिटरभन्दा टाढा रहेको देखिएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलका अनुसार अतिक्रमणकारी उपाध्याय फरार छन् । उनको खोजी भइरहेको छ । टहरामा रखिएका सबै सामान मुचुल्का गरेर राखिएको प्रहरीले जनाएको छ । घर हरैया भएपनि उपाध्याय उक्त टहरमा कहिलेकाँही आएर बस्ने गरेको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष रोमबहादुर लम्तरीले उपाध्यायलाई राष्ट्रिय वन क्षेत्रमा पर्ने जग्गा अतिक्रमण नगर्न सचेत गराएको बताएपनि अटेरी गरेपछि सबैको रोहबरमा भत्काउने, आगो लगाउने र सामान मुचुल्का गरेर पठाइएको बताए ।
तिनाउको कचल, दोभान, रैनादेवी छहराका सत्यवती, बल्ढेङगढी, जुठाका तराईसँग जोडिएका चुरे क्षेत्रमा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरेर घरटहरा बनाउने कार्य रोकिएको छैन । ‘अव्यवस्थित जग्गालाई लालपूर्जा दिने भनेर समितिले काम गरेको अवस्थामा मौकामा चौका हान्न खोजेको हुनुपर्छ,’ पोखरेलले भने, ‘बेलैमा टहरामा आगो लगाउन सफल भएका छौं ।’ कानतिपुर दैनिकमा खबर छ

