बिरामीलाई खुसी पार्नेहरु नै दुःखी


काठमाडाैं- के होला जब दिनरात, भोकप्यास नभनि २४सै घण्टा बिरामीको सेवा गर्ने चिकित्सक नै खुसी नभए । त्यस्तै अवस्था डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकहरुको भएको छ ।

संघीय सरकारले आफ्नो मातहत रहेको डडेल्धुरासहित देशका विभिन्न अस्पतालमा ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक कार्यक्रम’ लागू गरेको छ । जसअन्तर्गत दुर्गम तथा अन्य काम गर्ने विकल्प नभएको अस्पतालमा कार्यरत चिकित्सकलाई प्रोत्साहन स्वरुप भत्ता(ओडीओआइ) दिने भनेर भनिएको थियो । सोही कार्यक्रम अनुसार विगतका वर्षहरुमा अस्पतालमा कार्यरत चिकित्सकहरुले आर्थिक वर्षको अन्त्यमा उक्त भत्ता पाउँदै आएका थिए । तर, यो वर्ष भने उनीहरुले एक पैसा पनि पाएका छैनन् ।

त्यसैकारण डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकले भोलि असार २८ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आर्थिक वर्ष २०८०/०८१ को प्रोत्साहन भत्ता(ओडीओआइ) नपाएको भन्दै अस्पतालमा कार्यरत २५ भन्दा बढी चिकित्सकले आन्दोलित भएका हुन् ।

उक्त कार्यक्रमको लागि सरकारले बजेट छुट्याएको र आफूहरुले नपाएको भन्दै आन्दोलित चिकित्सकहरुले अस्पताललाई पत्र नै लेखेर २८ गतेबाट इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गनै चेतावनी दिएका छन् ।

‘यस आर्थिक वर्ष २०८०/०८१ मा नेपाल सरकारद्वारा नै ओडीओआइको लागि बजेट छुट्याइएको भएतापनि आर्थिक वर्ष सकिन लाग्दा समेत यस अस्पतालमा उक्त बजेट उपलब्ध नगराइएको कुरा जानकारी गराउँछौ । फलस्वरूप: विगत १ वर्षदेखि दिनरात नभनी काममा खटिदै विरामीलाई इसेवा दिदै आइरहेका हामी चिकित्सकहरूको मनोबलमा ठूलो असर पुगेको छ । असार २७ गतेसम्ममा प्रोत्साहन भत्ता नपाइएको खण्डमा अथवा त्यसको विकल्पमा अस्पताल विकास समितिबाट अन्य व्यवस्था नभएको खण्डमा २८ गतेदेखि इमर्जेन्सी सेवा बहिक अन्य सबै सेवामा सरिक हुन नसक्ने कुराको जानकारी गराउँछौ’ पत्रमा भनिएको छ ।

यसै विषयमा डा सञ्जय उप्रेती भन्छन्, ‘ड्युटीको समयभन्दा बढी अस्पतालमा काम गरे ओभरटाइम(ओटी) दिने व्यवस्था छ । यहाँ कार्यरत अन्य स्वास्थ्यकर्मी तथा कर्मचारी ओटी पाए । हामीले (ओडीओआइ) आउँछ भनेर ओटी माग गरेनौं । तर, अहिले बजेट नआएकाले दिन सकिदैन भनेर अस्पताल प्रशासनबाट जवाफ आएको छ ।’ आफूहरुले २४सैं घण्टा इमानदारीतापूर्वक बिरामीको सेवा गर्दै ओटीसमेत माग नगरेको अवस्थामा प्रोत्साहन नपाइँदा निरास भएर आन्दोलन गर्न लागेको उनले बताए ।

उता डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले विगतमा प्रोत्साहन निरन्तर दिने गरेको भएपनि यो वर्ष अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा बजेटको निकासा नपठाउँदा समस्या भएको बताए ।

‘हामीले आफ्नो तर्फबाट स्वास्थ्य मन्त्रालयमा आग्रह गरेका छौं । उताबाट अर्थले नदिएको भनेर भनिएको छ । आउँछ भनेर आश्वासन पाएका छौं’ उनले भने, ‘दुर्गममा काम गर्ने चिकित्सकलाई प्रोत्साहन गर्ने कार्यक्रम भएकाले यसमा हामी प्रशासनको तर्फबाट पनि गम्भीर भएको छ ।’ उनले आन्दोलित भएका चिकित्सकलाई सेवा नै बन्द नगरेर अन्य दबाबमुलक आन्दोलन गर्न आग्रह गरिएको बताए ।

स्वास्थ्यकर्मीले पनि पाएनन् ओभरटाइमको पूर्ण ज्याला

डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि ओभर टाइम काम गरेवाफतको पुरा रकम नपाएकाे गुनासो गरेका छन् । असारको अन्तमा आएर अस्पताल प्रशासनले ओभरटाइम काम गरेको ५० प्रतिशत रकम मात्रै आफ्नो खातामा हालेको उनीहरुको गुनासो छ ।

ओभर टाइम काम गरेवाफत खाइपाई रहेको पारिश्रमिक बराबर नै थप रकम दिने गरी सम्झौता भएपनि अस्पताल प्रशासनले सम्झौता विपरित ५० प्रतिशत मात्रै रकम खातामा हालेको एक स्वास्थ्यकर्मीले बताए ।

प्रतिक्रिया