प्रधानमन्त्री ओलीतिर खुले पण्डित र बामदेव पत्नी तुलसा, नेपाल पक्षमा सांसदको बिद्रोह


काठमाडौं– नेकपा विवाददेखि एमालेभित्रको विवादसम्म कतै नखुलेका पूर्वमन्त्री लालबाबु पण्डित प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन्। उनीसँगै उपाध्यक्ष बामदेव गौतमपत्नी तुलसा थापा पनि ओलीको पक्षमा खुलेकी छन्।

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन दुवै जना बालुवाटार पुगेका हुन्। थापा एमाले एकता अभियानमा सक्रिय थिइन् भने पण्डित जनताको बहुदलीय जनवादलाई मान्ने र कुनै गुट भेलामा नजाने निर्णय गरेर बसेका थिए।

प्रधानमन्त्री तथा संसदीय दलका नेताले बैठक बोलाएपछि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै उनीहरू बालुवाटार पुगेका हुन्। ‘संसदीय दलको नेता ओली जी नै हो। अहिले पार्टी अध्यक्ष पनि उहाँ नै हो। त्यसैले कुनै समूहको भेलामा होइन आधिकारिकताका पक्षमा उभिने हो’, पण्डितलाई उदृत गर्दै स्रोतले भन्यो।

यसैबीच, नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका सांसदले संसदीय दलको बैठकका विषयलाई लिएर बिद्रोह गरेका छन्। नेपालले बैठकमा सहभागी नहुनका लागि निर्देशन दिए पनि समानुपातिकसहितका अन्य प्रत्यक्ष निर्वाचित सांसद पनि बालुवाटारमा उपस्थित भएर नेपाल पक्षविरुद्ध बिद्रोह गरेको प्रमाण दिएका छन्।

प्रतिक्रिया